मनिपालको लापरबाही ः‘सुई लगाएको दुई मिनेटमै विरामीको निधन ।’

पोखरा, २१ चैत – पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले एक बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । बागलुङ जैमिनी–८, ढकालबारीका ७५ वर्षीय धनराज परियारको मृत्यु स्वास्थ्यकर्मीको लापरबाहीले भएको उनका छोरा केशव परियारको दावी रहेको छ । धनराजको मंगलबार साँझ ८ः३० बजे मृत्यु भएको थियो ।
‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको बेडमा रहेका अर्को बिरामीको लागि ल्याइएको सुई उनकै बेडबाट निकालेर बुबालाई लगाएकाले बुबाको मृत्यु भएको हो;, उनले टेलिफोनमा भने,‘ सुई लगाउनासाथ बुबा वाकवाकी लाग्यो भनेर निस्कनुभयो र दुई मिनेटमै उहाँको निधन भयो ।’ स्वास्थ्यकर्मीले अर्काको लागि राखिएको सुई पितालाई लगाएको कुरुवा बसेकी बहिनी बिमलाले देखेको र सुई लगाएपछि स्वास्थ्यकर्मीहरु पनि जिब्रो टोक्दै बाहिर निस्केको उनले दावी गरे ।
छोरा केशवका अनुसार खोकी र टाउको दुखेकाले पिता धनराजलाई आइतबार मनिपाल ल्याइएको थियो । मनिपाल आउनासाथ धनबहादुरलाई इमरजेन्सी कक्षमा लगियो । इमरजेन्सीले इसिजी गरायो । इसिजी रिपोर्टमा केही नभेटिएपछि डाक्टरहरुले धनबहादुरलाई ओपिडीमा पठाएका थिए ।

ओपिडीमै रहँदा सो घटना भएको हो ।
पटक–पटक यस्तोृ विवादमा पर्दै आएको मनिपालले भने यो विषयमा केही बोलेको छैन । आफन्तहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन मानेका छैनन् । अस्पताल प्रशासन र आफन्तबीच बुधबार वार्ता भए पनि वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

अस्पतालको तर्फबाट वार्तामा बसेको भनिएका निर्देशक ए. एल शर्मालाई मोवाइल सम्पर्क गर्दा मोवाइल फोन उठेन । जानकारीको लागि म्यासेजको पनि जवाफ आएन । अहिले धनबहादुरको शव अस्पतालमै राखिएको छ । वार्ताको क्रममा अस्पताल प्रशासनका व्यक्तिहरुले अर्काको सुई लगाउनु गल्ती भएको तर त्यही सुईका कारण बिरामीको मृत्यु नभएको जिकिर गरेको छोरा केशवले बताए । dhorpatannews.com