जलजलाको बनौंमा सरकारी कर्मचारीका छोराछोरी बोर्डिङमा पढाए कारवाही

विकल्प न्यूज/बेनी
चैत १९ गते । पर्वतको जलजला गाउँपालिकाको ९ नम्बर वडा बनौंले सरकारी कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति बनाएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि बनौंले सरकारी कोषबाट तलब खाने कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति बनाएको हो ।

गत आइतवार वडा अध्यक्ष गौबहादुर पुनको अध्यक्षतामा बसेको सर्वपक्षिय भेलाले सरकारी सेवामा आवद्ध ब्यक्तिका छोराछोरी निजि विद्यालयमा पढाउन नपाईने निर्णय गरेको छ ।

सरकारको सेवा सुविधा लिने व्यक्ति तथा परिवार राज्यप्रति उत्तरदायि हुनुपर्ने भन्दै अबदेखि सरकारी विद्यालयमै अनिवार्य रुपमा पढाउनुपर्ने निर्णय भएको वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो ।

त्यस्तै बिधालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुका छोराछोरिहरु पनि अनिवार्य रुपमा सरकारी बिद्यालयमा पढाउनु पर्ने निर्णय भएको उहाँले बताउनुभयो । उक्त निर्णय अटेर गर्नेहरुलाई पुनः अर्को वैठक बसेर कारवाहिको प्रकृतिवारे निर्णय गरिने पनि बताईएको छ ।

बैठकले चालु आर्थिक वर्षदेखि बनौ माध्यमिक विद्यालयमा निजि स्रोतबाट १ जना शिक्षक नियुक्ति गरि मन्टेश्वरी प्रविधिबाट पठन पाठन गराउने निर्णय पनि गरेको छ । उक्त निर्णय नयाँ शैक्षिक सत्रदेखि लागु गरिने पनि अध्यक्ष पुनले बताउनुभयो ।