विकल्प न्यूज/बेनी
चैत १९ गते । म्याग्दीका ११ सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ५५ लाख रुपियाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय पोखराले उक्त बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले सवै सामुदायिक विद्यालयहरुलाई प्रस्ताव आह्वन गरेको थियो ।
पाँचवटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापनाका लागि प्रतिविद्यालय ६ लाख पचास हजारका दरले बजेट विनियोजन गरेको छ ।
यसै गरी पाँच सामुदायिक विद्यालयमा कम्प्युटर ल्याबका लागि ४ लाख र किसानी मावि मंगला गापा ५ सिर्कुममा कम्प्युटर ल्याबका लागि ६ लाख पचास हजार रुपियाँ बजेट विनियोजन भएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार रघुगंगा गाउँपालिका ३ पिप्लेको रघुगंगा मावि, बेनी नगरपालिका ६ को जामुना खर्क मावि,मंगला गाउँपालिका ३ बरंजामा रहेको महेन्द्र रत्न मावि,मालिका गाउँपालिका २ को राष्ट्रिय मावि रुम,भिम मावि राजदाङमा विज्ञान प्रयोगशाला स्थापना हुनेछन् ।
यसै गरी शारदा आधरभूत विद्यालय मंगला ५ छिसबाङ,भुमे आ.वि बेनपा ९ घतान,बालदोय आधरभुत विद्यालय मंगला १ भर्जुला, र सिद्ध आ.वि मालिका १ दरवाङ मा कम्प्युटर ल्याब स्थापना हुने उहाँले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा उक्त बजेट विनियोजन भएको बताइएको छ । बिनियोजित बजेटको कार्यान्वयनका लागि सम्झौता गर्न शिक्षा निर्देशनालयले विद्यालयहरुलाई पत्र पठाइसकेको छ ।