म्याग्दीका स्थानीय तहमा नेकपाको एकता टुंगो लाग्यो

विकल्प न्यूज/बेनी
चैत १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र म्याग्दीले ६ वटा स्थानीय तहको एकतालाई टुंगो लगाएको छ । सोमबार बसेको जिल्ला संयन्त्रको वैठकले चार स्थानीय तहमा पूर्व एमालेको नेतृत्व र बेनी नगरपालिका सहित दुइ स्थानीय तहमा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने गरी सहमति जुटेको हो ।

मालिका,मंगला,रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्ने छ । बेनी नगरपालिका र धौलागिरि गाउँपालिकामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने गरी सहमति जुटेको संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष पाएको स्थानीय तहमा सचिव स्वत अर्को पक्षको हुनेगरी सहमति जुटेको संयन्त्र सदस्य श्रेष्ठले बताउनुभयो । यसै गरी जिल्लाका २८ वडामा पूर्व एमाले र १७ वडामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने गरी सहमति जुटेको छ ।  यसै गरी बेनी नगरपालिकाका १,५,६,८,९ र १० नम्बर वडामा पूर्व एमाले र २,३,४,७ मा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने छ ।
रघुगंगाका १,२,३,६,७,८ मा पूर्व एमाले र ४ र पाँचमा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने गरी सहमति जुटेको छ ।
यसै गरी अन्नपूर्णका १,२,३,६ र ८ नम्बर वडामा पूर्व एमाले र ४,५,६ र ७ नम्बर वडामा पूर्व माओवादीले नेतृत्व गर्ने छ ।
मंगलाका १,४,५ पूर्व एमाले र २,३ नम्बर वडामा माओवादी केन्द्रको नेतृत्व हुने छ ।

त्यस्तै मालिकाका १,२,५,६ नम्बर वडामा पूर्व एमाले र ३,४,७ मा माओवादी केन्द्रले नेतृत्व गर्ने छ । धौलागिरिका २,४,६,७ पूर्व एमाले र १,३,५ पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति जुटेको जिल्ला संयन्त्र सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय तहमा कमिटी गठन गर्दा पूर्व एमालेका तर्फबाट ५९ र माओवादी केन्द्रका तर्फबाट ४१ प्रतिशत सदस्यहरु रहने गरी एकता टुङ्गाउने विधि निर्माण गरिएको छ ।

चैत्र २६ गते भित्र स्थानीय तहमा पार्टी कमिटीहरु गठन गरी सक्ने निर्णय भएको संयन्त्र सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।
गत मंगलबार गण्डकी प्रदेशका इन्चार्ज तथा मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङ,सह इन्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे सचिव गोविन्द नेपाली सहितको जिल्ला संयन्त्रको चौथो वैठकले स्थानीय तहमा पार्टी एकतालाई टुंगाउन संयन्त्र सदस्यहरु हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल,बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलको सुझावका आधार सोमवार वसेको वैठकले एकतालाई टुंगोमा पु¥याएको हो ।