बेनी नगरपालिकामा बेरोजगारको विवरण संकलन सुरु

विकल्प न्यूज/बेनी
चैत १३ गते ।  बेनी नगरपालिकाका १० वटै वडा मार्फत बेरोजगारको विवरण संकलन सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण संकलन गर्ने निर्देशन दिए सँगै बेनी नगरपालिकामा पनि बेरोजगारको विवरण संकलन गर्न सुरु गरिएको बेनपाकी रोजगार संयोजक भगवती खड्काले बताउनुभयो ।

नगरपालिकाका सवै वडामा बेरोजगारहरुको तथ्याङ लिनका लागि फारम पठाइएको उहाँले बताउनुभयो । बेरोजगारहरुले स्थायी ठेगना भएको वडा कार्यालयमा पुगेर आफ्नो विवरण भर्नुपर्ने छ । ‘विवरण संकलनका लागि सवै वडाहरुमा फारम पठाइएको छ । वडा सचिवको सहयोग लिएर फारम भर्नपर्ने छ,’– रोजगार संयोजक खड्काले भन्नुभयो । यहि चैत मसान्त सम्म फारम भरेर बुझाउन समय म्याद तोकिएको छ ।

मन्त्रालयले बेरोगजारको विवरण सङ्कलन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक तोकेको छ । रोजगार संयोजकबाट स्थानीय तहका सबै वडामा बेरोजगारका विवरण सङ्कलन गरिने छ । सरकारले चैत मसान्तभित्र आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहमा बेरोजगार भएकालाई नाम दर्ता गर्न आह्वान गरिसकेको छ ।

रोजगारी हकसम्बन्धी ऐन–२०७५, रोजगारी हकसम्बन्धी नियमावली–२०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका–२०७५ अनुसार बेरोजगारलाई एक आर्थिक वर्षमा न्यूनतमत १०० दिनको रोजगारी सुनिश्चित गरेको छ । सय दिनको रोजगारी नसकेमा सरकारले रोजगारी प्राप्त गर्न नसकेको दिनको पारिश्रमिकको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।