लगानी सम्मेलनमा १९ आयोजना प्रस्ताव – म्याग्दीमा पनि परे दुइ ठूला आयोजना

गोपालचन्द्र सुवेदी

काठमाडौँ, चैत १३ गते ।  आसन्न लगानी सम्मेलनमा लगानी बोर्ड र निजी क्षेत्रसमेतको सहभागितामा करिब सात हजार मेगावाट जलविद्युत् उत्पादनका लागि कम्तीमा १९ विभिन्न जलविद्युत् आयोजना निर्माणको प्रस्ताव पेस गरिने भएको छ ।
लगानी बोर्डका कार्यालयले लगानीकर्तामाझ आठ जलाशययुक्त ठूला आयोजना निर्माण गर्ने प्रस्ताव तयार गरेको छ । यस्तै निजी क्षेत्रले ११ वटा जलविद्युत् आयोजनाको प्रस्ताव बनाइसकेको छ ।

बोर्डले तयार गरेको सरकारका तर्पmबाट छ हजार ९३ मेगावाट क्षमताका आठ आयोजनाका लागि करिब १० खर्ब रुपियाँ लागत अनुमान गरेको छ । यसमा पश्चिम सेती र एसआरसिक्स जलाशययुक्त जलविद्युत् आयोजनालाई संयुक्त वा छुट्टाछुट्टै विकसित गर्ने गरी फरक फरक प्रस्ताव पेस गरिएको छ ।

प्रस्तावअनुसार सरकारले एसआरसिक्स र पश्चिम सेती संयुक्तरूपमा विकास गर्दा कुल १२ सय मेघावाट विद्युत् उत्पादनका लागि दुई खर्ब रुपियाँ लाग्नेछ । छुट्टै निर्माण गर्दा ६५२ मेगावाट विद्युत् उत्पादनका लागि एसआरसिक्स परियोजनामा एक खर्ब २९ अर्ब लागत अनुमान गरिएको छ ।

श्चिम सेती जलाशययुक्त आयोजनाबाट मात्रै ७५० मेगावाट उत्पादन गर्न एक खर्ब ३१ अर्ब लागत अनुमान गरिएको छ । बोर्डले जाजरकोटमा ४१० मेगावाटको नलसिंहगाड जलाशययुक्त आयोजना बनाउन ८१ अर्ब रुपियाँ लागत अनुमान गरेको छ ।
यस्तै ११ सय १० मेगावाट क्षमताको सुनकोसी–२ र ५३६ मेगावाटको सुनकोसी–३ जनविद्युत् आयोजनामा लगानीकर्ता भित्र्याउने आशा सरकारको छ । जलाशययुक्त आयोजनाका रूपमा विकसित गरिने यी परियोजना रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोकमा निर्माण हुनेछन् । सुनकोसी–२ परियोजनामा १५६ मिटर अग्लो बाँघ बाँधेर जलाशय निर्माण गर्ने प्रस्ताव राखिएको छ ।

लगानी बोर्डमार्फत पेस गर्न लागिएको अर्को आकर्षक आयोजनाका रूपमा तल्लो अरुण जलविद्युत् आयोजना जलाशययुक्त पिकिङ मोडलमा प्रस्ताव गरिँदैछ ।

विद्युत् माग उच्च हुने समयमा विद्युत् आपूर्ति सन्तुलन मिलाउने गरी सो परियोजना विकसित गर्न खोजिएको बोर्डले जनाएको छ । सङ्खुवासभा र भोजपुरमा निर्माण प्रस्ताव गरिएको ६७९ मेगावाट क्षमताको सो आयोजना बनाउन एक खर्ब ४३ अर्ब लागत अनुमान गरिएको छ ।

महँगो लागत पर्ने जलाशययुक्त आयोजनका प्रस्तावहरू सरकारले पेस गर्नै लाग्दा निजी क्षेत्रले भने नदी प्रवाहमा आधारित (आरओर) मोडलका ११ आयोजनाको खाका सार्वजनिक गरेको छ । सबैभन्दा कम क्षमताको आयोजनाका रूपमा १८ मेगावाट क्षमताको इंगुवा जलविद्युत् आयोजना तीन अर्ब ३० करोड लागतमा तयार हुने अनुमान गरिएको छ । परियोजना ताप्लेजुङमा बन्नेछ ।

सबैभन्दा ठूलो परियोजनाका रूपमा मुस्ताङमा बनाउन सकिने कालीगण्डकी खोला जलविद्युत् आयोजना रहेको छ । जलप्रवाहमै आधारित १६४ मेगावाट क्षमताको परियोजना विकास गर्न दुई अर्ब ९६ करोड रुपियाँ लागत अनुमान गरिएको छ । उता सङ्खुवासभामा १३२ मेगावाट क्षमताको तल्लो बरुण जलविद्युत् आयोजना पनि सम्भाव्य आयोजनाका रूपमा पेस गरिँदै छ । सो आयोजना निर्माण गर्न करिब २६ अर्ब लाग्ने अनुमान छ । gorkhapatraonline