झोलुङ्गे पुलले जोड्यो गाउँ र सहर (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
चैत १० गते ।

म्याग्दीको एक नगरपालिका र गाउँपालिकालाई जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको बेनी नगरपालिकाको वडा नम्बर ९ काउलेगौडा र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई जोड्न रघुगंगा नदीमा झोलुङगे पुल निर्माण गरिएको हो । पुल निर्माण भएपछि दुइ घण्टाको यात्रा १५ मिनेटमा छोटीएको छ । 

तत्कालिन गाउँ र इलाका परिषद हुँदै जिल्ला परिषदले ८ बर्ष अघि माग गरे पनि अहिले मात्र पुल निर्माण भएको हो । रघुगंगा नदीको दुवै किनारको थाकन ढिल माथि बनाइएको पुल एकसय २१ मिटर लामो छ । सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत पुल निर्माणको लागि गत साउनमा थानी–बिएलटी जेभिसंग ५९ लाख रुपियाँमा सम्झौता भएको थियो ।

डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि १० महिना अगावै निर्माण सम्पन्न भएको छ । जनशक्ति र पुँजी परिचालन गरी सम्झौता अगावै पुल सम्पन्न गरेको निर्माण कम्पनीका तिर्थराम खड्काले बताउनुभयो ।

रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएपछि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट सहित वडा नम्बर ३ पिप्ले, २ भगवतीका स्थानीय र बेनी नगरपालिका–९ काउलेगौडा, तोरीपानी, न्याप्टेचौर, बेनपा–१० पात्लेखेत लगायतका ठाउँका स्थानीयलाई आवतजावतका लागि सहज भएको काउँलेगौडाका युवा तेजेन्द्र बानियाँले बताउनुभयो ।

पुल निर्माणले झण्डै साढे २ घण्टाको पदयात्रा १५ मिनेटमै छोटिएको बानियाँले बताउनुभयो । पुल निर्माण भएपछि स्थानीयहरु उत्साहित भएको उहाँले बताउनुभयो ।

रघुगंगा नदीमाथि निर्माण भएको अग्लो पुल सदरमुकाम बेनी देखि नजिकको दुरीमा रहेको र पुलबाट रघुगंगा नदी, वरीपरी हरियाली जंगलको मनोरम दृष्य अवलोकन गर्न सकिने भएकाले पर्यटकीय दृष्टिकोणमा समेत सम्भावना बढाएको बताउनुभयो ।

दुबै तर्फका स्थानीय वारपारको लागि गलेश्वर पुगेर घुमाउरो बाटो हुँदै वारपार गर्नुपर्ने बाध्यता पुल निर्माण संगै हटेपछि स्थानीयमा खुसीयाली छाएको बेनी नगरपालिका ९ का वडाअध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो ।

पुल बनेसंगै थाकनको डिलमा रहेको समथर फाँटलाई बनभोज स्थलको रुपमा विकास गर्न सकिने सम्भावना बढेको पुल निर्माणका समन्वयकर्ता बालकृष्ण सुवेदीले बताउनुभयो । पुल बने सँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।