विकल्प न्यूज/बेनी
चैत ६ गते । गरिब र विपन्नहरुको उपचारमा सहयोग पु¥याउनका जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषद्धारा स्थापित गरिब र विपन्न उपचार कोषमा एक एकदम्पत्तीले पाँचलाख सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ८ नागी स्थायी घर भई हाल हङकङमा रहनुभएका राजु पुनले आफ्नो धर्मपत्नीको नामबाट कोषलाई पाँचलाख सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
बुधबार कोषको सचिवालय बेनीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मोना हङकङका सल्लाहकार एवम् मिग हङकङका संस्थापक संरक्षक समेत रहनुभएका पुनले शान्तिकोषको परोपकारी कार्यबाट आफू उत्साहित भएर सहयोग गर्ने घोषणा गरेको बताउनुभयो ।
‘विदेशमा वसोवास गर्ने म्याग्देलीहरु शान्तिकोषले सञ्चालन गरेको परोपकारी अभियानले हाम्रो मन छोएको छ । पैसाकै अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने कोषको अभियानलाई प्रवासी म्याग्देलीहरुको साथ छ’ उहाँले भन्नुभयो । पैसा धेरै भएर सहयोग गरेको होइन पुनले भन्नुभयो ‘कोषले सञ्चालन गरेको परोपकारी अभियानलाई साथ दिन आफूले श्रीमती र सन्तानको नामबाट उक्त रकम सहयोग गरेको हुँ ।’
कोषले सहयोगदाता पुनलाई सचिवालयमा स्वागत तथा सम्मान गरेको छ । पुन सँगै आउनुभएका मिक हङकङका सिए इन्द्र पुर्जालाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यले गरिब र विपन्नको उपचारमा सहयोग पु¥याउन स्थापना गर्न लागिएको कोषमा विश्वभरका म्याग्देलीहरुले देखाएको सहयोगी मनले आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले मोना हङकङमा हालै मात्र पचास लाख रुपियाँ बरावरको सहयोगको प्रतिबद्धता आएको बताउनुभयो ।
‘विश्वभर रहेका म्याग्देलीहरुले देखाएको सदासयताले कोष डेढ करोड मात्र होइन यो भन्दा पनि बढ्ने देखियो ’ उहाँले भन्नुभयो ।
कोषका अध्यक्ष शाक्यको अध्यक्षता सचिव लोकेश पुनमगरको सञ्चालन र उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागतमा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरु तथा कोषका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।