ताजा समाचार:
Search

कतारबाट फर्किएर माछापालन

विकल्प न्युज/ बेनी

फागुन २८ गते ।अन्नपूर्ण गाउँपालिका – ४ नारच्याङका एक युवा विदेशबाट फर्किएर गाउँमै माछापालन व्यवसाय गर्नुभएको छ । १० वर्ष कतारमा विताएका नारच्याङ बेंसीका भिमबहादुर पाइजाले गाउँमा व्यवस्थित रुपमा माछापालन व्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।


बेसीगाउँ स्थित मिस्त्रीखोला जलविद्युत आयोजनाको आवास नजिक २ रोपनी जग्गामा १० लाख रुपियाँ खर्चिएर पाइजाले ४ वटा पोखरी निर्माण गर्नुभएको छ । पोखरीमा यतिखेर ग्रासकाप र कमन काप जातका दुइहजार माछाका भुराहरु छाड्नुभएको छ ।

पाँचवर्ष देखि व्यवासायिक माछापालन गर्दै आउनुभएका पाइजाले तत्कालिन कृषि विकास कार्यालयको सहयोगमा काठमाण्डौंमा माछापालन सम्बन्धी तिनदिने तालिम लिनुभएको छ । माछा विक्रीबाट खर्च कटाएर वर्षमा ३ लाख रुपियाँ सम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । प्रतिकेजी ८ सय रुपियाँमा माछा सजिलै विक्री हुने उहाँले बताउनुभयो ।

उत्पादीत माछा विक्रीका लागि बजारको समस्या नभएको बताउँने उहाँले बजारको माग अनुसार उत्पादन गर्न भने सक्नुभएको छैन । माछापालनका लागि आवश्यक पूर्वाधारसँगै पानीको स्रोत सुहाउँदो माटो र न्यानो हावापानी तथा वर्षमा ३ पटकसम्म बिक्री गर्न सजिलो भएको हुनाले अन्य कृषि व्यवसायभन्दा माछापालन सजिलो व्यवसाय भएको उहाँको अनुभव छ ।

‘मागअनुसार माछाको आपूर्ति गर्न धौधौ पर्छ, उहाँले भन्नुभयो, ‘पानीको समस्याले गर्दा माग अनुसारको माछा उत्पादन गर्न सकिएको छैन ।’ कम लगानीमा बढी आम्दानी हुने व्यवसायको रूपमा माछापालन भएकाले आगमी दिनमा पोखरीको क्षमता वृद्धि गरी उत्पादन बढाउने सोच रहेको उहाँले बताउनुभयो । ‘आफ्नै गाउँघरमा परिश्रम गर्दा गौरब लाग्ने रहेछ कृषक पाइजाले भन्नुभयो,’ अर्कोका देशमा पसिना बगाउन फर्किन्न ।’ कृषकका हितमा गाउँपालिकाले तालिम र अनुदानको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।