रघुगंगाको आवधिक योजना निर्माण सुरु

सन्तोष गौतम/ विकल्प
मौवाफाँट २४ फागुन ।म्याग्दीको रघुगंगा गाउँपालिकाले त्रिवर्षीय आवधिक योजना निर्माण गर्न लागेको छ ।

गाउँपालिकाको वर्तमान वस्तुअवस्था, सम्भावना, आवश्यकता, चुनौति र स्रोत साधनको विश्लेषण गरेर आवधिक योजना बनाउन लागेको हो ।

आवधिक योजना तयार गर्ने जिम्मा लिएको इगल सोलुसन प्रा.लीले गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका सांसद बिनोद केसीले गाउँपालिकाको आगामी योजनालाई व्यवस्थित र प्रभावकारी बनाउन आवधिक योजना सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय तहले तय गरेका मझौता तथा ठूला प्रकृतिका आयोजना कार्यान्वयनमा प्रदेश र संघीय सरकारले सहयोग गर्ने सांसद केसीले बताउनुभयो । जनताको समस्या र आवश्यकतालाई आधार मानेर बनाएको योजनामा उनिहरुको सहभागिता रहने उहाँको भनाई थियो ।

राखुको गुठी जग्गा समस्या समाधानका लागि प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइएको बताउँदै सांसद केसीले सडक, सिचाई, खानेपानीमा बजेट बिनियोजन भएका आयोजनाको बारेमा जानकारी गराउनुभयो ।

गलेश्वर पिप्ले भगवती बेगखोला, गलेश्वर मौवाफाँट दग्नाम चिमखोला कुइनेमंगले, बेनी पाखापानी सडक आयोजना कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेता हरिकृष्ण श्रेष्ठले बिनियोजन भएको बजेटको सहि र प्रभावकारी परिचालन भएमा मात्र विकास हुने बताउनुभयो । बजेटको सदुपयोगमा जनप्रतिधिहरुको सक्रियता र निगरानी तथा सहजिकरणको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा राजमोका अध्यक्ष छवी विश्वकर्माले जनप्रतिनिधिहरुले सरोकारवालाहरुको सुझाव र सल्लाहको आधारमा अघि बढे काम गर्न सजिलो हुने बताउनुभयो ।

भगवतीको वडा अध्यक्ष रिमबहादुर कटुवाल र पिप्लेका वडा अध्यक्ष जिवन मल्लले बजेट बिनियोजनका लागि हानथाप गर्ने तर कार्यान्वयनमा वेवास्ता गर्ने प्रवृति मुख्य चुनौति भएको बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, स्थानीय अगुवा बालकृष्ण सुवेदी, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष दिपक पौडेल, पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतम, पवित्रा आमा समूहका अध्यक्ष कमला केसीले जलविद्युत, पर्यटन, जडिवुटी, कृषि क्षेत्रको सम्भावनालाई परिचालन गरि विकासमा रुपान्तरण गर्ने किसीमको योजना बनाउन सुझाव दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले पूर्वाधार, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन प्राथमिकता दिएको बताउँदै सरोकारवालाहरुको सुझाव समेटेर आवधिक योजना बनाउन लागिएको बताउनुभयो ।

ठोस योजनाको अभावमा अलमल र अन्यौलता भएकाले आफूहरुको सोचलाई व्यवहारमा उतार्न आवधिक योजना आवश्यक परेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले परामर्श दाता कम्पनीको टोली सबै वडा र बस्तीमा पुगेर बस्तु अवस्था अध्ययन गरेर तयार पारेको प्रतिवेदनको आधारमा आवधिक योजना बनाउने बताउनुभयो ।

गाउँपालिकाका सामाजिक विकास अधिकृत पदम भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कमला तिलीजाले स्वागत गर्नुभएको थियो भने इगल सोलुसनका सञ्जय अधिकारीले आवधिक योजना निर्माण प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो ।

सोही कार्यक्रममा १०९ औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर गाउँपालिकाले तीन जना जेष्ठ महिलालाई सम्मान गरेको थियो । भगवतीकी १०५ वर्षिया भद्रकुमारी मल्ल, पिप्लेकी मिठु खत्री र रिमाया किसानलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।