राम्चेमा स्वास्थ्य चौकी र आमा समूहको भवन उद्घाटन

सन्तोष गौतम
राम्चे २१ गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा निर्माण भएको स्वास्थ्य चौकी र राम्चे आमा समूहको भवनको मंगलबार एक समारोहका बिच उद्घाटन गरिएको छ ।

सहरी विकास मन्त्रालयले दुई करोड ६ लाख रुपैयाँमा निर्माण गरेको स्वास्थ्य चौकी भवन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र जग्गादाता सुखबहादुर तिलीजा पुनले उद्घाटन गर्नुभएको हो ।
यसैगरी बिस लाख रुपैयाँमा राम्चे आमा समूहले बनाएको सामुदायिक भवनको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र उपाध्यक्ष केशमाया मगरले उद्घाटन गर्नुभएको थियो ।
भवन उद्घाटन कार्यक्रममा जिसस प्रमुख केसीले विकासका लागि सामाजिक एकताको आवश्यकता रहेको बताउनुभयो । उहाँले भवन बनेर मात्र नहुने भएकाले भवनमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरेर गाउँमै प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा दिनुपर्ने बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि पहल गरिएको बताउनुभयो । अध्यक्ष पुनले थोरै थोरै बजेट छरेर काम नदेखिने भएकाले अब ठूला लगानीका आयोजना सञ्चालन गरेर देखिने तथा जनताले सुबिधा पाउने काम गर्नुपर्ने बताउनुभयो ।

प्रजिअ लीलाधर अधिकारीले ग्रामिण क्षेत्रका विद्यालयको शैक्षिक र स्वास्थ्य संस्थाको सेवामा सुधार गरेर आधारभुत आवश्यकताका लागि सर्वसाधारण सहरबजारमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, अन्नपूर्ण ६ घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवाले, जग्गादाता सुकबहादुर तिलीजा, जग्गादाता परिवारका सदस्य बिष्णु पुर्जा, वडा सचिव कृष्णबहादुर विश्वकर्मा, नांगी सामुदायिक स्वास्थ्य केन्द्रका डाक्टर राजकुमार दंगाल, पूर्व गाविस अध्यक्ष ओमबहादुर पुर्जा, निर्माण व्यवसायी बिनोद भट्टचन, अगुवा फासबहादुर गर्बुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

वडा अध्यक्ष खमबहादुर गर्बुजाको अध्यक्षता, स्वास्थ्य चौकीका प्रमुख चाँदनी घलेको स्वागत मन्तब्य र हिमाञ्चल माविका शिक्षक तोया परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

आमा समूह र स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गादान तथा आर्थिक सहयोग गर्ने दाताहरुलाई सो समारोहमा सम्मान गरिएको थियो । स्वास्थ्य स्वास्थ्य चौकीमा ३६ वर्ष सेवा गर्नुभएका लुकबहादुर पुनको बिदाई गरिएको थियो भने उहाँले स्वास्थ्य चौकीमा पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।