गलेश्वर शिवालयमा भक्तजनको घुइँचो, ५० हजार भक्तजनहरुले मन्दिरको दर्शन गरे ः क्षेत्र विकास कोष

विकल्प न्युज
म्याग्दी, फागुन २० गते ।
्म्याग्दीको बेनी नगरपालिका–९, मा अवस्थित प्रसिद्ध गलेश्वरधाम मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा आज गलेश्वरधाममा म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानहरुबाट पुजाअर्चना गर्न भक्तजनको भीड लागेको हो ।

१८ वर्षपछि पहिलोपटक सोमबारकै दिन महाशिवरात्री पर्व परेको हुँदा शिवालय मन्दिरमा पुजाआजा गर्नका लागि श्रद्धालु तथा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यस वर्षको शिवरात्री पर्वको अवसरमा गलेश्वर मन्दिरमा पुजाआजा गर्न म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, कास्की, चितवन र सर्लाही लगायतका जिल्लाहरुबाट करिब ५० हजार भक्तजनहरु आएको क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

विगतका वर्षहरुमा भन्दा यसवर्ष परेको शिवरात्री पर्वमा शिवालय मन्दिरमा दर्शन तथा पुजा गर्न आउने भक्तजनहरुको सङ्ख्यामा वृद्धि भएको क्षेत्र विकास कोषको भनाइ छ । मन्दिर दर्शन गर्न भक्तजनहरुको व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र, न्यु वेष्ट प्वाइन्ट र गलेश्वर आदर्श बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षक, विभिन्न क्लब, आमा समूहलगायत सामाजिक संघसंस्थाले स्वयंसेवा गरेको कोषका सदस्य सचिव रेग्मीले बताउनुभयो।

गलेश्वर मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएको भेटीलाई कोषमार्फत व्यवस्थापन गरी मन्दिरको भौतिक पूर्वाधार विस्तारमा लगानी गर्ने गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । गलेश्वर मन्दिरमा खासगरी साउने सोमबार, बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष पुजाआजा हुँदै आइरहेको छ भने मेला समेत लाग्ने गर्दछ ।

मन्दिर परिसरमा श्रद्धालु भक्तजनहरुले भजनकिर्तनका साथै नौमती पञ्चेबाजा समेत बजाएका थिए । हिन्दूधर्मावलम्बीले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिवलाई व्याख्या गरिन्छ ।

महाशिवरात्रीका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्व्िसद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु बन्दै जान थालेको छ । गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन् । पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित गलेश्वर मन्दिरभित्र शिव लगायतका भगवान्हरुको मूर्तिहरु राखिएको छ ।