म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रबद्र्धन गर्न ७ समुह छनौट

विकल्प न्यूज/बेनी
फागुन १७ गते । म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रबद्र्धन गर्न सात वटा सामुदायिक वन उपभोक्ता समुह छनौट गरिएको छ । शुक्रवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको जिल्ला वन क्षेत्र समन्वय समितिको वैठकले प्राप्त प्रस्तावका वारेमा छलफल गरी पर्यापर्यटक कार्यक्रम सञ्चालन गर्न योजना छनौंट गरेको हो ।

सामुदायिक वनमा आधारित रहेर पर्यापर्यटक प्रबद्र्धन कार्यक्रमका लागि संघिय सरकारबाट २५ लाख र गण्डकी प्रदेशबाट १० लाख गरी ३५ लाख रुपियाँ सर्सत अनुदान प्राप्त भएको जिल्ला वन डिभिजन कार्यालयका प्रमुख हरिषचन्द्र सापकोटाले बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्न जिल्लामा रहेका सवै सामुदायिक वन उपभोक्ताहरुलाई प्रस्ताव माग गरिएको र सातवटा मात्र प्रस्ताव कर्यालयमा पेश भएको उहाँले बताउनुभयो ।

वैठकले पौलत्स्य आश्रम सामुदायिक वन उपभोक्ता समुह बेनपा ५, धौलागिरी गाउँपालिकामा दहपातल सामुदायिक वन उपभोक्ता समुह मुना, भिरखर्क सामुदायिक वन उपभोक्ता समुह मालिका ५,खैरनी सामुदायिक वन उपभोक्ता समुह बेनपा ६, बगरफाँट सामुदायिक वन उपभोक्ता समुह बेनपा २,पुला गाज्ने सामुदायिक वन उपभोक्ता समुह बेनपा ५ र सिद्ध सामुदायिक रघुगंगा ५ लाई पर्यापर्यटन प्रबद्र्धन कार्यक्रम सञ्चालनका लागि प्रति समुह पाँचलाख रुपियाँका दरले उपलब्ध गराउने निर्णय भएको सव डिभिजन कार्यालयकी सहायक वन अधिकृत विमला लम्सालले जानकारी दिनुभयो ।

यसै गरी वैठकले सिमसार क्षेत्रको संरक्षण व्यवस्थापनका लागि संघिय सरकारवाट प्राप्त भएको ३ लाख रुपियाँ प्रतिसमुह एकलाख रुपियाँका दरले उपलब्ध गराउने निर्णय भएको सहायक वन अधिकृत लम्सालले बताउनुभयो ।

अधिकृत लम्सालका अनुसार मालिका गाउँपालिका ५ देविस्थानमा रहेको बराह ताल संरक्षणका लागि बन्चरे बाख्राखोर सामुदायिक वन उपभोक्ता समुह, मंगला गाउँपालिका ४ वरंजा स्थित पोखरी निर्माण संरक्षणका लागि भित्री वन सामुदायिक उपभोक्ता समुह र बारही दह संरक्षण र व्यवस्थापनका लागि घुमाउने कोर्खे सामुदायिक वन उपभोक्ता समुह अन्नपूर्ण गाउँपालिका ८ राम्चेलाई छनौट गरिएको छ ।

राष्ट्रिय २२० केभिए कालीगण्डकी कोरिडोर प्रशासरण आयोजनाले आफ्नो क्षेत्र भित्र पर्ने रुखहरु काट्नका लागि अनुमति दिन डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यसै गरी निर्माणधिन रघुगाट जलविद्युत आयोाजनाले वनक्षेत्रका रुखहरु काटेबापत सोधभर्ना गर्नुपर्ने वनक्षेत्रका लागि कुनै चासो नदेखाएकाले गाउँपालिकाको समन्वयमा तत्काल सोधभर्नाका लागि अयोाजनालाई अनुरोध गर्ने निर्णय भएको सहायक वन अधिकृत लम्सालले जानकारी दिनुभयो ।

जिसस प्रमुख केसीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि ,गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष,निमित्त प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याल, सुरक्षा निकायका प्रम्ुख, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष, गैसस र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । यसै गरी डिभिजन वन कार्यालयले  खरिद गरेका आगलागी नियन्त्रणका लागि दुईलाख ३० हजार रुपियाँ बराबरका ६ सेट विभिन्न सामाग्र तिनवटै सुरक्षा निकायका प्रतिनिधिहरुलाई जिसस प्रमुख केसी र डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले हस्तान्तरण गर्नुभएको थियो ।