जलजलाका जेष्ठ नागरिकसँग अन्तरक्रिया

विकल्प न्युज/ बेनी
फागुन १४ गते । जलजला गाउँपालिकाको आयोजनामा सोमबार जेष्ठ नागरिक र सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जेष्ठ नागरिकहरुको संरक्षण, शसक्तिकरण र विकासका लागि उनिहरुको अपेक्षा तथा गाउँपालिकाको भूमिकाको समन्धमा जेष्ठ नागरिकका प्रतिनिधि र जनप्रतिनिधि तथा कर्मचारीहरुबीच अन्तरक्रिया गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र विभिन्न वडाका ४२ जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिले जेष्ठ नागरिकहरुको सम्मान, आदर र सद्भावका साथै उहाँहरुको कतिपय ज्ञान, सिप, क्षमता र अनुभव नयाँ पुस्तालाई अनुशरणयोग्य रहने बताउनुभयो । जेष्ठ नागरिकहरुले परिचयपत्र पाएपछि सोमा उल्लेख भएअनुसार स्वास्थ्य र यातायात सेवामा छुट सुबिधा नपाएको गुनासो गरेका थिए ।

अध्यक्ष मल्लले आगामी योजना तर्जुमाका क्रममा जेष्ठ नागरिकहरुको भावनालाई पनि समेटिने बताउनुभयो । उहाँले जेष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिने बताउनुभयो ।