मजदुरका लागि असुरक्षित बन्दै निलगिरी जलविद्युत आयोजना

विकल्प न्यूज/बेनी
फागुन १३ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन निलगिरी जलविद्युत आयोजना मजदुरका लागि असुरक्षित बन्दै जानथालेको छ । पछिल्ला केही महिना यता आयोजनामा काम गर्ने दुइ मजदुरको ज्यान गएको छ । आयोजनाले मजदुरको सुरक्षाका लागि अपनाउनु पर्ने न्यूनतम मापदण्ड पनि कार्यन्वयन नगर्दा मजदुरहरु जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता छ ।

आयोजनाको यतिखेर पहुँच मार्ग निर्माण गर्ने काम भइरहेको छ । कठिन भिर पहरामा काम गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानीका न्यूनतम कुराहरु पनि आयोजनाले पालना नगरेको पाइएको हो ।

फेरी पछिल्लो पटक आयोजनामा कार्यरत एक जना मदजुरको शुक्रवार भीरबाट खस्दा घट्नास्थलमै मृत्यु भएको छ । पहरामा विष्फोटनका लागि होल खन्ने क्रममा शुक्रवार विहान ८ बजे लडेर सुनछहारी गाउँपालिका, ३ गाम रोल्पाका १८ बर्षिय तिलक घर्ति मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घलेम्दी र मिस्त्रीखोलाको दोभादनबाट निलगिरी जलविधुत आयोजनाको मुहान तर्फ निर्माणाधिन प्रवेश मार्गमा विष्फोटनका लागि होल खोल्ने क्रममा मजदुर ९० मिटर तल निलगिरी खोलामा खसेको प्रहरीले जनाएको छ ।

कठिन भिरमा कार्यरत मजदुरको सुरक्षामा सेफ्टी वेल्ट जस्ता आधारभुत सुरक्षा सावधानी नअपनाउँदा मजदुरको मुत्यु भएको प्रहरीले बताएको छ । दुर्घटना स्थानमा केही महिना अघि सडक खन्नेक्रममा डोजर खस्दा एक मजदुरको पनि मृत्यु भएको थियो ।

‘मृतकको पोष्टमार्टम गरी शव आफन्तलाई बुझाउन मृतकको घरमा खवर पठाइएको छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकबहादुर गुरुङ्गले भन्नुभयो, ‘निर्माणस्थलमा प्रयाप्त सावधानी नअपनाउँदा दुर्घटना भएको देखिन्छ । मृतकलाई किरिया खर्च र विमा समेतका सुविधा उपलब्ध गराउन आयोजनाका ठेकेदारलाई झिकाएका छौं ।’

मजदुरको ज्यान जाने क्रम बढेपछि मजदुरको सुरक्षाका लागि ध्यान दिन आयोजनाका प्रतिनिधिलाई ढाकेर छलफल गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

अन्नपूर्ण र निलगिरी हिमालको वेश क्याम्प मार्गमा ६२ मेगावाट क्षमताको निलगिरी क्यास्केट र छुट्टै ३८ मेगावाट क्षमताको निलगिरी दोस्रो जलविधुत आयोजना निर्माण गर्न प्रवेश मार्ग निर्माण भैरहेको छ ।