राष्ट्रपति रनिङ शिल्ड विजेता रघुगंगा र मुक्तिधाम माविको बिजय उत्सव

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ फागुन । रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् ।

रघुगंगा माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुले बाजागाजा सहित पिप्ले गाउँ परिक्रमा गरेर विद्यालयमा पदक दिलाउन योगदान गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

यसैगरी मुक्तिधाम माविबाट प्रतियोगितामा सहभागि भएका २२ जना विद्यार्थीहरुलाई नगद पाँच सय रुपैयाँका दरले वडा अध्यक्ष रिमबहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ल र प्रअ अम्मर केसीले पुरस्कार वितरण गर्नुभएको थियो ।९ वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य पदक जितेर प्रथम भएको रघुगंगा माविले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार रुपैयाँ पुरस्कार हात पारेको थियो ।

६ वटा स्वर्ण, ४ वटा रजत र ६ वटा कास्य पदक जितेर दृतीय भएको मुक्तिधाम मावि भगवतीलाई ट्रफि, मेडल, प्रमाणपत्र र बीस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । ३ वटा स्वर्ण, २ वटा रजत र ६ वटा कास्य पदक जितेर तृतीय भएको महेन्द्र मावि झिँले ट्रफि, मेडल, प्रमाणपत्र र दश हजार रुपैयाँ पुरस्कार पाएको छ ।