म्याग्दीका पत्रकार सन्तोष गौतमलाई के.डी बर्ष पत्रकारिता पुरस्कार प्रदान

विकल्प न्यूज/बेनी
फागुन ११ गते ।  म्याग्दीका पत्रकार सन्तोष गौतम शनिबार के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानीत हुनुभएको छ ।

मंगला गाउँपालिका २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो ।

अन्नपूर्ण पोष्ट्, रासस, सगरमाथा र धवलागिरी टेलिभिजनको म्याग्दी सम्बाददाता गौतम म्याग्दीबाट प्रकाशन हुने रिखार दैनिक पत्रिकाको प्रकाशक र म्याग्दी काली एफ एमको बरिष्ठ सम्बाददाता हुनुहुन्छ । नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशका सदस्य समेत रहनुभएका एक दशकदेखि म्याग्दीमा क्रियाशिल गौतमले यसअघि पनि विभिन्न पुरस्कार प्राप्त गरिसक्नुभएको छ । सोही अवसरमा हाल अस्टे«लियामा रहेका अन्नपूर्ण पोष्ट्का पूर्व म्याग्दी सम्बाददाता गोपाल छन्त्याललाई कदरपत्र, नागरिक दैनिक र न्युज २४ टेलिभिजनका म्याग्दी सम्बाददाता तथा बेनी अनलाइनका सञ्चालक हरिकृष्ण गौतमलाई प्रशंसापत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो ।मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, वडा अध्यक्ष धनबहादुर खाती, कटेजका सञ्चालक अशोक शर्मा लगायतले पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

कृषिमा आधारित पर्यटन र होटल ब्यवसाय गर्ने उद्देश्यले तीन वर्षअघि स्थापीत उक्त कटेजले प्रत्येक वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । उक्त पुरस्कार गत वर्ष कान्तिपुरका घनश्याम खड्कालाई प्रदान गरिएको थियो ।

प्राकृतिक तातोपानी कुण्ड, टोड्के, गुरील्ला, धौलागिरि चक्रीय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ५० लाख रुपैयाँको लागतमा कटेज सञ्चालन गरिएको छ ।

उक्त कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको परिकारको बिक्रीका साथै होमस्टे सुबिधा रहेको छ ।

यसअघि बाह् जना क्षमताको होमस्टे सञ्चालन गरेको कटेजले यस वर्षदेखि सभाहल र सुबिधायुक्त कोठा सहितको डाइनिङ हल बनाएको छ । पुरस्कार वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष रोकाले स्थानीय कृषि उपजको खपत, बजारीकरण, रोजगारी सिर्जना र ग्रामिण पर्यटन प्रर्वद्धन गर्न कटेजले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

अध्यक्ष रोकाले युवाहरुलाई उद्यमशिलतामा आकर्षित गर्ने नीति लिएको बताउदै स्वदेशमै रहेर सम्मानित र मर्यादित व्यवसाय गरेर आम्दानी गर्न सकिने सन्देश केडी कटेजका सञ्चालकले दिएको बताउनुभयो । मंगला गाउँ कार्यपालिकाका प्रवत्ता समेत रहनुभएका वडा अध्यक्ष खातीले गाउँपालिकाले पनि पत्रकारिता क्षेत्रको प्रर्वद्धन र विकासका लागि पहल गर्ने बताउनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्य, पशु सेवा शाखाका प्रमुख दिर्घबहादुर खड्का, सिमलचौरका अगुवा गणेशबहादुर बानियाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रम कटेजका सञ्चालक अशोक शर्माको अध्यक्षता, व्यवस्थापक जिवन शर्माको स्वागत मन्तब्य र सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।