सुदिप रावल स्मृति कोषद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

विकल्प न्यूज/बेनी
फागुन ११ गते । म्याग्दीको बेनीमा स्थापना भएको सुदिप रावल स्मृति कोषले राष्ट्रिय परिक्षा बोर्डले शैक्षिक सत्र २०७४ र २०७५ मा लिएको दश जोड दुई तहको परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने म्याग्दीका तीन विद्यार्थीहरुलाई शनिवार पुरस्कृत गरेको छ ।

वि.स २०६५ फागुन १ गते बागलुङमा सडक दुर्घटनामा परि दिवंगत भएका रावलको स्मृतिमा स्थापना भएको कोषले औसत अंकमा जिल्लामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत एवम् सम्मान गरेको हो । रावल परिवारद्धारा स्वर्गीय सुदिपको स्मृतिमा २०६६ सालमा कोषको स्थापना गरी २०६८ बाट विद्यार्थीहरुलाई पुरस्कृत एवम् सम्मान गर्दै आएको छ ।

जिल्लामा प्रथम हुने प्रकाश माध्यमिक विद्यालय बेनीकी छात्रा छलीकुमारी जैसी (३.३१ जिपीए), द्धितीय हुने जनप्रिय मावि दरवाङकी छात्रा कुलदेवी पुन (३.२१ जिपिए), र तृतीय हुने न्यू वेष्ट प्वाइन्ट आवाशिय मावि बेनीकी अन्तिमा श्रेष्ठ(३.०९) पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशका सांसद विनोद केसी, कोषका अध्यक्ष सन्तोष रावल र संरक्षक दुर्गाबहादुर रावलले उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत र सम्बन्धित विद्यालयलाई सम्मान गर्नुभएको थियो ।

सम्मानित हुने विद्यार्थी उच्च शिक्षाका लागि जिल्ला बाहिर रहेकाले विद्यालयका शिक्षकलाई कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई क्रमशः नगद ६ हजार, ३ हजार पाँचसय र २ हजारको साथमा सम्मान पत्रले सम्मान गरिएको थियो ।

शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा विभिन्न क्रियाकलाप गर्ने उद्देश्यले रावलको स्मृतिमा परिवारले दुई लाख ५० हजारको अक्षय कोषको स्थापना गर्नुभएको थियो । अक्षयकोषबाट प्राप्त ब्याजबाट वर्षेनी उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने गरिएको सचिव बिक्रम बोगटीले जानकारी दिनुभयो ।

कोषको रकमलाई बृद्धि गर्दै सामाजिक कार्यहरुमा समेत थप रचनात्मक कार्यहरु गर्ने योजना रहेको कोषका अध्यक्ष रावलले बताउनुभयो ।

कार्यक्रममा सांसद केसीले स्वर्गीय रावलको स्मृतिमा कोषले शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा गर्दै आएको कार्यहरु रचनात्मक रहेको बताउनुभयो । साथै उहाँले सडक दुर्घटनाका घटनाहरु बढ्दै गएकाले कोषले दुर्घटना न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरु गर्न सुझाव पनि दिनुभयो ।

कोषका अध्यक्ष रावलको अध्यक्षतामा भएको कार्यक्रममा कोषका सल्लाहकार नेत्रबहादुर महत,वेष्ट प्वाइन्टका शिक्षक कृष्ण जिसीको मन्तव्य, सदस्य हरिकृष्ण गौतमले स्वागत र सचिब बोगटीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।