चर्पीमा बस्दै आएकी जमुना परिवारलाई डेराको व्यवस्था

विकल्प न्यूज/बेनी
फागुन १० गते ।  आफ्ना दुई नातीहरुसँगै विद्यालयको चर्पीका लागि बनाइएको टहरामा बस्दै आएकी बेनी नगरपालिका २ ज्यामरुककोटकी जमुना सुनारलाई डेराको व्यवस्था मिलाइएको छ ।

बेनी नगरपालिकाको २ नम्बर वडा कार्यालयको पहलमा ७५ वर्षीया जमुना र उनका नातीहरुलाई बसोबासको लागि बगरफाँटमा कोठा खोजेर डेराको व्यवस्था गरिएको हो ।

साथै ९ वर्षीय एनोस र ७ वर्षीय सिमसनलाई वृद्धा आमाको जिम्मा लगाएर सम्र्पक बिहीन भएका जमुनाका छोरा राजुलाई प्रहरीको सहयोगमा सम्र्पकमा ल्याएर छोराहरुको संरक्षण, शिक्षा र पालनपोषणको जिम्मा लगाइएको वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिनुभयो ।
उनिहरुलाई बुधबारदेखिनै डेरामा सारिएको छ । दुई नातीसँगै बगरफाँटको सरस्वति आधारभुत विद्यालय परिसरमा चर्पीका लागि बनाइएको भवनमा गत मंसिरदेखि बस्दै आएकी सुनारको दयनीय अवस्थाका बारेमा समाचार प्रकाशन प्रशारण भएपछि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग तथा जनप्रतिनिधिहरुले उनिहरुको व्यवस्थापनका लागि चासो देखाएका थिए ।

दुई वर्षअघि मराङकी युवतीसँग दोस्रो बिवाह गरेर दरवाङमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका एनोस र सिमसनका बुवा राजुले छोराहरुको लागि मासिक छ हजार रुपैयाँ आमालाई उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

बुवा र आमालेनै दोस्रो बिवाह गरेर वेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षीय एनोस र ७ वर्षीय सिमसन २ वर्षदेखि हजुरआमा जमुनासँग बस्दै आएका छन् । वडा अध्यक्ष थापाले सुनार परिवारको बसोबास व्यवस्थाका लागि जग्गा व्यवस्थापनका लागि पहल गरिएको बताउनुभयो ।