ताजा समाचार:
Search

खाद्य पदार्थको गुणस्तरमा जोड

विकल्प न्यूज/बेनी
फागुन ८ गते । बुधवार बेनीमा आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरुले खाद्य प्रदार्थको गुणस्तरमा जोड दिएका छन् । मानव स्वास्थ्य सँग जोडिएका उपभोग्य वस्तुहरु आयत गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने कार्यक्रमका वक्ताहरुले बताएका हुन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा बेनीका सरोकारवाला सँग गरेको एस पि एस सरोकारवाला अन्तरक्रिया कार्यक्रममा उपभोग्य वस्तुहरुको गुणस्तर कायम गर्नका लागि नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने जोड दिइएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले विश्व व्यापार संगठनका शिद्धान्त र यसको कार्यान्यनका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  प्रजिअ अधिकारीले विश्व व्यापार संगठनमा नेपाल प्रवेश गरेपछि स्वदेशी भन्दा पनि विदेश उत्पादनले बजार लिएको बताउँदै आयत प्रतिस्थापन गरी निर्यातलाई जोड दिनुपर्ने बताउनुभयो । स्थानीय रुपमा उत्पादन भएका वस्तुहरुको गुणस्तर कायम गरी यसको उपभोगलाई बढाउनुपर्ने उहाँको भनाई थियो ।

जिल्ला समन्वय अधिकारी अर्जुन शर्माले नियमित रुपमा बजारको अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले स्थानीय उत्पादनको गुणस्तर वृद्धिका लागि सम्बन्धित पक्षले ध्यान दिनसकेमा यसको उपभोगमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

व्यवसायीहरु इमान्दार,कर्मचारीहरु कानुन कार्यान्वयनमा तत्परता र उपभोक्ताहरु सचेत हुनुपर्नेमा उहाँले बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले जनताको गुणस्तरीय खाद्य अधिकारको सुरक्षा गर्न महत्वपूर्ण भूमिका कार्यालयको भएकाले नियमित रुपमा बजार अनुगमनलाई प्राथमिकता दिएको बताउनुभयो । गण्डकी प्रदेशका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला हेर्ने गरी नयाँ कार्यालय स्थापना गरिएकाले आगमी दिनमा बजार अनुगमन सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । नागरिकको गुणस्तरीय खाद्य उपभोग गर्ने अधिकारलाई सुनिश्चित गर्नका लागि खाद्य स्वच्छन्नता तथा अभिमुखीकरण, बजार अनुगमन लगायतका कामलाई प्राथमिकता दिने उहाँको भनाई थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका सचिव सुर्वण रिजालको सञ्चालन निमित्त प्रमुख पौडेलको अध्यक्षता तथा स्वागत, प्रजिअ अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा म्याग्दीका उद्योगी व्यवसायीहरु लगायत सरोकारवालाहरुको  सहभागिता रहेको थियो ।