ताजा समाचार:
Search

बेनी अस्पताल भवन निर्माण – दुइवर्षमा २० प्रतिशत काम

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,फागुन ७ गते ।  बेनी अस्पताल परिसरमा निर्माणधीन अवस्थामा रहेको अस्पतालको भवन । तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीको सदरमुकाम बेनीमा निर्माणधिन अवस्थमा रहेको बेनी अस्पतालको भवन निर्माण सुस्त गतिमा छ । निर्माण व्यवसायीको लापरबाहीका कारण निर्माणले गति लिन नसकेको हो । दुइवर्ष अघि निर्माण थालिएपनि अझै जगबसाल्ने काम सकिएको छैन ।

निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीको लापरबाही कारण दुइवर्षमा जम्मा २० प्रतिशत मात्र भौतिक प्रगति भएको हो । पचास शैयाको अस्पतालमा स्तर उन्नती भएपछि आधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न थालिएको हो ।

तिन वर्षमा निर्माण सक्ने गरी महादेव खिम्ती रफिना जेभी सँग २०७३ मंसिर २१ गते सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको एकवर्षमा कार्यक्षेत्रमा परिचालन भएको ठेकेदारले निर्माणलाई अझै गति दिन सकेको छैन । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्का सम्झौता लगाएको भवनको अहिले सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वय इकाई कास्कीबाट हेर्ने गरिएको छ ।

दुइवर्ष वितिसक्दा पनि अझै भवनको फाउन्डेशनको काम सम्पन्न हुननसक्नु ठेकेदारको लापरबाही भएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वय इकाई कास्कीका सिनियर डिभिजलन इन्जिनियर नारायणप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार अझै ११ वटा पिल्लर हाल्न बाँकी नै छ ।

निर्माणको सवै काम हेर्दा करिब २० प्रतिशत मात्र भौतिक प्रगति भएको अनुमान गरेका छौं, सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद भण्डारीले भन्नुभयो । भवन निर्माणमा ठेकेदारले लापरबाही गरेपछि ठेक्का तोड्न सूचना निकालेपछि बल्ल आएर काम गर्न थालेको हो डिभिजनल इन्जिनियर भण्डारीले भन्नुभयो ‘अहिले पछिल्लो समय ठेकेदारले कामदार बढाएर निर्माणलाई गति दिन्छौं भनेका छन् ।’ पछिल्लो समय निर्माणको गति बढाएको छ । दुइचार महिना यताउता भएपनि भवन निर्माण हुनेमा आशाबादी छौं उहाँले भन्नुभयो ।

पहिला काम अति नै सुस्त गतिमा थियो अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले भन्नुभयो,‘पछिल्ला केही दिनयता कामदारको संख्या बढाएको देखिन्छ । निर्माणलाई गति दिन दवाव दिएका छौं ।’
दुइवर्षमा जम्मा २० प्रतिशत काम गरेको ठेकेदारले अवको साढे १० महिनामा ८० प्रतिशत निर्माण सक्न ठेकेदारलाई कठिन छ ।

पछिल्लो समय कामदारको संख्या बढाए पनि समयमा सम्पन्न गर्न कठिन हुने देखिन्छ । कामको प्रकृति हेर्दा अझै पनि सुस्त गतिमा छ । व्यवसायीको सुस्त कार्यशैलीका कारण लक्षित अवधिमै भवन निर्माण सम्पन्न गर्न चुनौती बढेको बेनी अस्पतालका अध्यक्ष कटुवालले बताउनुभयो । चार हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने चारतले भवन बनाउन भ्याटसहित १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको थियो ।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपांगमैत्रीसमेत हुनेछ । म्याग्दीमा हालसम्म निर्माण भएका मध्य सबैभन्दा ठूलो र धेरै लागतको रहेको बेनी अस्पतालको भवन निर्माण कार्यलाई गुणस्तरीय रुपमा समयमै सम्पन्न गराउन व्यवसायीलाई ताकेता गरिएको आयोजना कार्यान्वयन इकाई कास्कीका इन्जिनियर पुकार सापकोटाले बताउनुभयो ।

पछिल्लो समय कामदारको संख्या थपेकाले निर्माणले गति लिने आशा गरिएको उहाँले बताउनुभयो । अस्पतालले अस्थायी संरचना निर्माण गरेर सेवा प्रवाह गरेको अस्पताल विकास समितिका अध्यक्ष कटुवालले बताउनुभयो ।