भारतको नयाँ दिल्लीमा उपचारत सियानालाई थप सहयोग आवश्यक

विकल्प न्यूज/बेनी
फागुन ५ गते ।

भारतको नयाँदिल्ली स्थित सर गंगाराम अस्पतालमा उपचार गराईरहेकी सियाना रन्तीजा पुनको थप उपचारका लागि सहयोग आवश्यक परेको छ । म्याग्दीको अन्नपुर्ण गाउपालिका– ७ हिस्तानकी पुनलाई कलेजो प्रत्यारोपण पछि थप उपचारका लागि सहयोग आवश्यक परेको हो ।

९ महिनाकी सियानाको कलेजोमा समस्या देखिपछि उनलाई बचाउन म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले कलेजो दान गर्नुभएको थियो ।

कलेजोका सफल प्रत्यारोपण भएको र थप उपचारमा रकमको अभाव भएपछि परिवारले सहयोगको अपिल गरेका छन् ।

अहिले सम्म संकलन भएको ३० लाख रुपियाँ कलेजो प्रत्यारोपण र औषधि उपचारमा सकिएपछि अस्पतालमा थप उपचारका लागि आर्थिक समस्या परेको हो ।

थप उपचारका लागि दुई महिना अझै अस्पतालमा बस्नुपर्ने र सो उपचारका लागि १८ लाख खर्च आवश्यक देखिएकाले शान्ति कोषले अभियान थालेको शान्तिकोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । अप्रेशनपछि उनी उच्च सुरक्षामा रहेकी छन् । स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । उनको कलेजो प्रत्यारोपणपछि २ महिना अस्पताल बस्नुपर्ने र निरन्तर औषधि प्रयोगको लागि रकम अपुग भएको हो ।

थप उपचारका लागि १८ लाख आवश्यक देखिएको कोषका संस्थापक अध्यक्ष तथा कलेजो दानदाता केसीले बताउनुभयो ।

सियानाको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका समाजसेवी तथा शुभचिन्तक दाजुभाई र दिदिबहिनीलाई उपचारमा आर्थिक सहयोग गरिदिन आमा रितु पुनले आग्रह गर्नुभएको छ ।