मराङमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम/विकल्प न्यूज
मराङ ४ फागुन । विकास निर्माण र सेवा प्रवाहको बारेमा स्थानीयबासीको गुनासो, अपेक्षा, सुझाव संकलन तथा सम्बोधन गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाको आयोजना, म्याग्दी मिडिया सोसाइटी, संगम र कदम म्याग्दीको व्यवस्थापन तथा सहजिकरणमा सुनुवाई गरिएको हो । कार्यक्रममा मराङ र मल्कवाङका बासिन्दाहरुलाई गाउँपालिकाको केन्द्र टाढा हुँदा समस्या भएको, यातायात र सडक सुबिधालाई सहज बनाउन तथा सार्वजनिक सेवामा सहज पहुँच हुने वातावरण मिलाइदिन आग्रह गरेका थिए ।

यसैगरी विकास योजना छनौट देखि कार्यान्वयन प्रक्रियालाई सहभागितामुलक र पारदर्शी तथा मितब्ययी बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सार्वजनिक सेवा प्रवाहमा आम नागरिकको सहज पहुँच स्थापित गराउन प्राथमिकता दिएको बताउँदै शुसासनमा जोड दिनुभयो ।
प्रजिअ अधिकारीले एकिकृत घुम्ति शिविर, विपद् व्यवस्थापनका लागि एक वार्ड एक हेलिप्याड लगायतका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भौगोलिक प्रतिकुलताका कारण विकास र सेवा प्रवाहमा धेरै चुनौति भएपनि त्यसलाई समाधानका लागि पूर्वाधार विकास, प्रशासनिक सुधार र सहजता गरिएको बताउनुभयो ।

अध्यक्ष पुनले विद्युत, यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा प्राथमिकता दिएको बताउँदै गाउँपालिकाका योजना तथा कार्यक्रमको कार्यान्वयमा जनताले सक्रियताका साथ सहयोग तथा सहभागिता जनाउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष रेशम छन्त्यालले भौतिक पूर्वाधार विकाससँगै धवलागिरी गाउँपालिकामा बालबिवाह, मदिरा, लागू औषधको प्रयोग न्युनीकरणका लागि अभियान चलाइएको बताउनुभयो । उहाँले अन्यायमा परेकाहरुलाई न्यायीक समितिबाट सेवा लिन आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन गरेका १२० वटा मध्य हालसम्म ४५ वटा योजनाको सम्झौता भएको, पुजीगत बजेट १३ र समग्रमा २९ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, उपाध्यक्ष छन्त्यालको स्वागत र कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलको सञ्चालनमा भएको कार्यक्रमको सहजिकरण पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य तथा मिडिया सोसाइटीका प्रतिनिधि सन्तोष गौतमले गर्नुभएको थियो ।