विकल्प न्यूज/बेनी
फागुन २ गते । बस्ने घर नभएर विद्यालयले उपलब्ध गराएको एक कोठामा दुइ नाती सहित बस्न बिवस एक बृद्धलाई बेनीका युवाहरुले विहिवार सहयोग गरेका छन् ।
बेनी नगरपालिका २ तमानेकी ७५ वर्षीय जमुना सुनार बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयले शौचालय प्रयोजनका लागि बनाएको एक छाप्रोमा कष्टकर जिवन विताइरहेको समाचार सार्वजनिक भएपछि बेनीका युवाहरुले खाद्ययन्न,लत्ताकपडा र शैक्षिक सामाग्री लिएर पुगेका हुन । बेनीका १० जना युवाहरुले सामुहिक रुपमा रकम उठाएर १७ हजार बरावरको सामाग्री सहयोग गरेका हुन । दुइबोरा चामल,एकसेट सिरक,डसना सिरानी, लगाउने कपडा,एकप्याक तोरीतेल लगायत खाद्यन्न र सुनारको दुइ नातीलाई शैक्षिक सामाग्री सहयोग गरिएको राजिव मल्लले बताउनुभयो । ‘विद्यालयको शौचालयमा कष्टकर जिवन विताइरहेको खबर सार्वजनिक भएपछि हामी युवाहरु भेला भएर सहयोग गर्ने योजना बनाऔं युवा मल्लले भन्नुभयो ।’
इश्वर खत्री,इश्वर भण्डारी,दिपक जिसी,एकेन्द्र भण्डारी,सन्दीप तिमिल्सीना , राजीव मल्ल,सौजन्य मल्ल,सागर भण्डारी,देवेन्द्र केसी र विरेन्द्र गिरी सहयोग लिएर बगरफाँट स्थित विद्यालयमा पुगेका थिए ।
सहयोग पाएपछि ७५ वर्षीय सुनार सहयोग गर्ने युवाहरुलाई धन्यबाद दिनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले कोठा भाँडा तिरेर बस्ने पनि नसक्ने र कहि कतै घर पनि नभएकाले जमुना सुनारलाई विद्यालयले शौचालयका लागि बनाएको तर प्रयोगमा नआएको कोठा बस्नका लागि दिएको बताउनुभयो । सुनारको दुइ नाती पनि विद्यालयमा पढ्ने भएकाले पनि हामीले उहाँलाई आश्रय दिएका हौं उहाँले भन्नुभयो । ‘बुहारी बिदेश गएको बेला छोरा राजुले अर्को बिवाह ग¥यो, बुहारीले पनि दुई जना नातीलाई छाडेर दोस्रो बिवाह गरिन्’, जमुनाले भन्नुभयो ‘बाख्रा पाठा भए बेच्ने थिए, मार्न भएन्, भोकमा खान दिएर स्कुल पठाएकी छु ।’
सोही विद्यालयमा यनस कक्षा २ र सिमसन बालकक्षामा पढ्छन् ।दोस्रो बिवाह गरेर वेपत्ता भएका राजु तीन वर्षअघि बुवा बित्दा पनि घर आएका थिएनन् । सुकुम्बासी सुनारका चार भाई मध्य भारत गएका माइला र साइला छोरा पनि वेपत्ता छन् । घरमै भएका जेठा छोरा ज्याला मजदुरी गरेर जिविका चलाउँछन् ।
अन्नपात मागेर नातीहरु र आफ्नो भोक मेट्ने गरेको जमुनाले बताउनुभयो । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट नातीहरुको पढाई, नुन, तेल गर्ने खर्च जुटाउने उहाँले बताउनुभयो ।