जिप दुर्घटना अपडेट ः १२ घाइतेको बेनीमा उपचार हुँदै र एकलाई पोखरा रिफर

विकल्प न्यूज/बेनी
माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनी देखि रघुगंगा गाउँपालिका २ राँखु भगवति तर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ५८९९ नम्बरको यात्रुबहाक जिप आइतवार दिउसो करिव ३ बजे तिर गलेश्वर पारि सडकबाट एकसय मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १२ जनाको बेनी अस्पतालमा उपचार भईरहेको छ भने एकजना गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत पोखरा पठाइएको छ । दुर्घटनामा गम्भिर घाइते रघुगंगा गाउँपालिका ३ मालिकाकी ३७ वर्षीय सरस्वती परियारलाई गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीको पहलमा हेलिकोप्टर मार्फत पोखरा मनिपाल अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ । गर्भवति समेत रहेकी परियारको टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारका लागि परियारको साथमा चिकित्सक सहितको टोलीलाई पनि पठाइएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । यसै गरी सूचना अधिकारी सुवेदीले दिएको जानकारी अनुसार अन्य घाइतेको बेनी अस्पतालमै उपचार भइरहेको छ । घाइतेको टाउको,छाती र हातखुट्टामा चोट लागेको छ । दुर्घटनामा घाइतेहरु हुनेहरुमा वडा नम्बर २ भगवतीका कर्णबहादुर कार्की (वर्ष ५६), राँखु पिप्लेकी राजकुमारी मल्ल (३१) र उहाँको ४ वर्षीय छोरी सजनी मल्ल, बेनी नगरपालिका ८ की ३५ वर्षीय दुर्गा पौडेल, रघुगंगा २ का ७५ वर्षीय गोविन्द शर्मा, सोही ठेगनाका १५ वर्षीय सरोज वत्स्याल, १५ वर्षीय वडा नम्बर २ भगवतिकी अरुसी खत्री , पिप्लेका ५३ वर्षीय दिल बहादुर सार्की रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।  यसै गरी राँखुकी २९ वर्षीय सम्झना भण्डारी, जलजला गाउँपालिका मल्लाजकी २२ वर्षीय सिर्जना जिसी र उहाँको एकवर्षीय छोरा आवान जिसी सामान्य घाइते हुनुभएको छ । दुर्घटनामा चालक गोपी परियार पनि घाइते भएको प्रहरीले जनाएको छ ।  दुर्घटना भएको खवर आउँदा साथ गलेश्वरमा रहेको शसस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयवासीहरुले तत्काल यात्रुको उद्धार गरी बेनी अस्पताल ल्याएका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।