प्राकृतिक तातोपानीमा स्नान गर्न सकिने बाथ ट्युव र पोखरी निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २५ माघ । बेनी नगरपालिका ४ मा प्राकृतिक तातोपानीमा स्नान गर्न मिल्न बाथ ट्युब र पोखरी निर्माण भएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले स्नानका लागि आउने पाहुनाहरुको सुबिधाका लागि बाथ ट्युव र पोखरी सञ्चालनमा ल्याएको हो ।

बाथ ट्युव र पोखरी निर्माण भएपछि तातोपानीमा जुनसुकै समयमा पनि स्नान गर्न सकिने र पालो पर्खनु नपर्ने समितिका सहसचिव कुमार केसीले जानकारी दिनुभयो ।

पाँच लाख रुपैयाँमा निर्माण भएको तीन जना क्षमताको वाथ ट्युव सुबिधायुक्त तरिकाले प्राकृतिक तातोपानीले स्नान गर्न सकिने सुबिधा छ ।

तिन वटा छुट्टा, छुट्टै कोठाभित्र रहेको बाथट्युवमा बसेर एक घण्टासम्म स्नान गर्न समितिलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शूल्क तिर्नुपर्ने जनाइएको छ । स्नानका लागि साबुन, टावेल, स्याम्पु समितिले उपलब्ध गराउनेछ । पाँच लाख रुपैयाँको लगानीमा बाथ ट्युव निर्माण भएको हो । प्रभु एयरका क्याप्टेन सोवित गौचनले एक लाख, बुटवलका हिराबहादुर गौतमले पचास हजार र काठमाडौका तेजिन्द्र खड्काले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

तीन लाख रुपैयाँको लागतमा म्याग्दी नदीको किनारमा निर्माण भएको पोखरीमा एक पटकमा ४० देखि ५० जनाले स्नान गर्न सक्नेछन् । पोखरीको लम्बाई र चौडाई १२÷१२ फिट छ । छोटो अवधिका लागि आउने पर्यटकहरुका लागि तातोपानीमा स्नान गर्न सकिने पोखरी बनाइएको हो । यसअघि तातोपानीमा स्नानका लागि एउटा मात्र पोखरी थियो ।

जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा चोट पटक लागेको, सर्के मर्केको, ग्यास्ट्रिक, गानोगोला, नशा, छाला सम्बन्धि समस्या भएका बिरामीहरु स्नान गरेर उपचारका लागि आउँछन् । बाथटव र पोखरीको शुक्रबार उद्घाटन गर्नुहुदै बेनपा ४ का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले पूर्वाधार विस्तारसँगै पाहुनालाई सुबिधा र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनुभयो । तातोपानीमा छोटो अवधिका लागि आउने बिशिष्ट पाहुनाहरुलाई लक्षित गरेर पुर्वाधार विस्तार गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।  तातोपानीमा डुवेर स्नानका लागि देशका विभिन्न स्थानका साथै विदेशबाट समेत गरेर वार्षीक १६ हजार जना पाहुना आउने गर्छन् । दुई सय रुपैयाँ शूल्क तिरेर दश दिनसम्म स्नान गर्न सकिन्छ ।   कुण्डको आम्दानी र चन्दा सहयोगबाट कुण्डको संरक्षण, कर्मचारीको तबव, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन हुने गरेको छ ।