बेनीको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल

साधन राम्जाली /विकल्प न्यूज
माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

बालबालिकाको संख्या बढ्ढै गएको, पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको बाल संगठन म्याग्दीका सभापति नेत्रबहादुर महतले बताउनुभयो ।
हाल भएको भवनमा १४ बालबालिका राख्न सकिने क्षमता छ । बालगृहमा थप बालबालिका राख्न सक्ने अवस्था नभएकाले बालगृहको क्षमता बढाउनुपर्ने सभापति महतले बताउनुभयो ।

६ कोठा सहितको नयाँ भवन निर्माणका लागि ५५ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । भवनका लागि लगत स्टीमेट पारी सघाउन सवैमा अनुरोध गरिएको उहाँले बताउनुभयो ।

बालगृहमा अहिले म्याग्दी तथा छिमेकी जिल्लाका गरी १२ जना बालबालिका रहेको र बालबालिका आउने क्रम जारी रहेकाले आवास गृहको क्षमता बृद्धि गर्न आवश्यक भएको कोषाध्यक्ष ज्ञनेन्द्र श्रेष्ठले बताउनुभयो ।

दुई तले भवन निर्माणका लागि विभिन्न संघ संस्था, स्वदेश तथा प्रवासीबाट आर्थिक सहयोगको अपेक्षा गरिएको बालसंगठनले जनाएको छ । कार्यक्रममा कोषाध्यक्ष श्रेष्ठले गत आव र चालु आवको पछिल्लो ६ महिनाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुएको थियो ।