वौद्धिक अपाङ्गता स्रोत कक्षालाई सहयोग

समिर रोका/विकल्प न्यूज
बगुवाखोला २२ माघ ।  बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजागृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षालाई मंगलबार खेलकुदका सामग्री सहयोग प्राप्त भएको छ ।

अन्नपूर्ण गाउँपालिका ६ खिवाङ घर भई हाल पोखरा बस्नुहुने लक्ष्मी पुनको पहलमा बेल्जियमको डिस्याबिलीटी इन्टरनेशनल सोलीडारीटी फाउण्डेशनले वौद्धिक अपाङ्ग विद्यार्थीहरुका लागि चार थान पिङ्ग, बल र नेट सहयोग प्राप्त भएको हो । संस्थाका उपाध्यक्ष कृष्ण तिलीजा, लक्ष्मी पुन र प्रेम पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण हमाल र प्रअ भक्त कार्कीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । संस्थाले यसअघि गत मंसिरमा रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षामा दृष्टिबिहीन बालबालिकाले प्रयोग गर्न मिल्ने चार थान कम्प्युटर सहयोग गरेको थियो ।

फरक क्षमता भएका बालबालिकाहरुको शिक्षामा पहुँच बढाउन सहयोग पुगोस भनेर विद्यालयको आवश्यकता अनुसार बिदेशमा रहेका साथिहरुसँग समन्वय गरेर खेलकुदका सामग्री उपलब्ध गराएको पुनले बताउनुभयो ।