ओखरबोटका घरघरमा खानेपानीका धारा

विकल्प न्यूज/बेनी
माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा डिल्लीखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको छ ।

गाउँपालिका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत आयोजना निर्माण भएको हो । आयोजनाको मंगलबार तेस्रो अनुगमन तथा सामाजिक परिक्षणका साथै उद्घाटन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले आयोजनाको उद्घाटन गर्नुभयो । कार्यक्रममा अध्यक्ष रोका र उपाध्यक्ष खरमाया बिटालुले दुर्गम गाउँका बासिन्दाको सुबिधाका लागि खानेपानी आयोजना निर्माणमा प्राथमिकता दिएको बताउनुभयो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, वडा अध्यक्ष दिलीपकुमार शेरचन, परियोजनाको खानेपानी तथा सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट, गाउँपालिकाको अनुगमन समितिका सदस्य तथा वडा न. १ निस्कोटका वडा अध्यक्ष टंक पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।  ओखरबोट माविका शिक्षक नविन पुनको सञ्चालन, उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रसाइलीको अध्यक्षता, यामबहादुर पुनको स्वागतमा भएको कार्यक्रममा भिमबहादुर घर्तीले आर्थिक तथा भौतिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

कूल ५३ लाख ७३ हजार २४६ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट ओखरबोटका ४० घरधुरी लाभान्वित भएका छन् । सबै घरमा मिटर जडित निजी धारा मार्फत खानेपानी वितरण गरिएको छ । आयोजना निर्माणका लागि नेपाल सरकारले २१ लाख ३२ हजार १०४, गाउँपालिकाले पाँच लाख ३२ हजार ३२४ र फिनल्याड सरकारले ११ लाख ९९ हजार ३०८ रुपैयाँ अनुदान सहयोग गरेको थियो । उपभोक्ताहरुले १४ लाख ५० हजार ७७६ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।