चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगलाको चौथो गाउँसभा सकियो

सिजन रोका /विकल्प न्यूज
बाबियाचौर २१ मघ । चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगला गाउँपालिकाको चौथो गाउँसभा सोमबार बाबियाचौरमा सकिएको छ ।

सशर्त शिर्षक बाहेकका १४ करोड ८५ लाख ४८ हजार ४५२ रुपैयाँको बजेटलाई संसोधन गरेर चालूतर्फ चार करोड ८४ लाख ५१ हजार र पूजीगततर्फ दश करोड तीन लाख ९७ हजार ४५२ रुपैयाँ बिनियोजन भएको छ ।

क्षमता विकास सम्बन्धि विभिन्न २४ वटा तालिम सञ्चालनका लागि ७२ लाख रुपैयाँ बिनियोजन भएको छ । दलित, महिला, जेष्ठ नागरिक, आदीवासी, जनजाति, अपाङ्गता भएका लक्षित समुदायको कार्यक्रमलाई १३ लाख रुपैयाँ बिनियोजन भएको छ ।

माघको २५ देखि २७ गतेसम्म बाबियाचौर र हाँडेभिरमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा सञ्चालन भएको गाउँसभाको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गर्नुभएको थियो भने उपाध्यक्ष सिर्जना केसी लगायत गाउँसभाका सदस्यहरुले आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।

गत पुष २५ गतेदेखि गाउँसभा सुरु भएको थियो । बजेट संसोधन भएपछि कार्यान्वयनको बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।