निर्माण व्यवसायी संघ म्याग्दीमा सर्वसम्मत रुपमा नेतृत्व चयन

विकल्प न्यूज/बेनी
माघ २० गते । 

निर्माण व्यवसायी संघ म्याग्दीमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले वि.एन. कन्स्ट्रक्सन प्रा.लिका प्रोपाईटर नारायण जिसीलाई पुन तिन वर्षे कार्याकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचीत गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा विपिन खड्का निर्वाचीत हुनुभएको छ । यसै गरी उपाध्यक्षमा मनोजकुमार कार्की,तमबहादुर चोचाङ्गी,महासचिव अमृत कुमार श्रेष्ठ,सचिव दिनेश क्षेत्र चयन हुनुभएको प्रमुख निर्वाचन आयुक्त तथा अधिवक्ता ठहरबहादुर भण्डारीले बताउनुभयो ।

यसै गरी कोषाध्यक्षमा प्रकाश बानियाँ,सदस्यहरुमा कुशल पौडेल,महेन्द्र कुमार आचार्य,गोपाल पौडेल,रेशम पुन,पवनकुमार मल्ल,कृष्णबहादुर बरुवाल,नारायण कुमार बराल,कुशल घर्ती क्षेत्री,निरज भण्डारी र श्याम सुन्दर कँडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

संघको अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष जिसीले कठिन अवस्था र विभिन्न चुनौतीहरु पार गर्दै संघ यहाँ सम्म आइपुगेको र अन्तिममा निर्माण व्यवसायीहरुको जित भएको बताउनुभयो । उहाँले साना व्यवसायीहरुको हकहितका लागि संघ लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आगमी तिनवर्षे कार्यकाललाई सवै सँग सहकार्य गरेर सफल पार्ने बताउनुभयो ।

‘संघमा केही असन्तुष्ट व्यवसायीहरु पनि हुनुहुन्छ, निर्वाचित अध्यक्ष जिसीले भन्नुभयो उहाँहरुलाई पनि सँगै मिलाएर लैजाने कुरामा म सधै सकरात्मक छु ।’ साना व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न संघले योजना ल्याउने उहाँको भनाई छ ।

काम नपाएर विदेश जान पासपोर्ट काट्नु पर्ने अवस्था आउन दिने छैन अध्यक्ष जिसीले भन्नुभयो,‘साना व्यवसायीहरुको हितका लागि सहकारी बनाएर लगानी गर्ने रकमको जोह गरिने छ ।’ ठूला र स्थापीत व्यवसायीहरुले साना साना योजनाहरुमा ठेक्का नलिइ साना व्यवसायीहरुले काम गर्ने वातावरण बनाउन संघले सहयोग गर्ने अध्यक्ष जिसीको भनाई छ ।

नयाँ नेतृत्व घोषणा कार्यक्रममा संघका पूर्व अध्यक्ष अध्यक्ष नेत्रबहादुर महत,गण्डकी प्रदेशका क्षेत्रीय उपाध्यक्ष एकेन्द्र बहादुर रावलले संघमा आगमी दिनमा प्रभावकारी रुपमा सञ्चालन गर्न नयाँ नेतृत्वले प्रभावकारी भूमिका निभाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त तथा अधिवक्ता भण्डारी र निर्वाचन मण्डलका सदस्य सुरत केसीले नव निर्वाचित अध्यक्ष,पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । माघ ५ गते सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन सँगै आइतवार सम्पन्न भएको छ ।