मृत्युको मुखमा पुगेकी बालिकालाई कलेजो दान गरेर पुर्नजन्म दिलाए केसीले

विकल्प न्यूज/बेनी
माघ १९ गते । 

म्याग्दीका एक व्यक्तिले मृत्युको मुखमा पुगेकी बालिकालाई आफ्नो अंग दान गरेर पुर्नजन्म दिलाएका छन् । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी ९ महिनाकी  सियाना रन्तीजा पुनलाई बेनी नगरपालिका ८ निवासी ओमकुमारी शान्तिकोषका संस्थापक अध्यक्ष एवम् समाजसेवी व्यक्तित्व चन्द्रकुमार केसीले आफ्नो कलेजो दान गर्नुभएको हो ।

जन्मेको चार महिनामै कलेजो खराव भएपछि सियाना मुत्युको मुखमा पुगेकी थिइन । सियानाको परिवारले बालिकाको जिवन रक्षाका लागि ओमकुमारी शान्तिकोष मार्फत अपिल गरेका थिए ।

परिवारका सदस्यको कलेजो म्याच नभएपछि बालिकालाई जसरी पनि बचाउनुपर्दछ भनेर कोषका संस्थापक अध्यक्ष केसी नै कलेजो दान गर्न तयार हुनुभएको थियो । शुक्रवार भारतको नयाँ दिल्ली स्थित सर गंगाराम अस्पतालमा रन्तिजाको सफल रुपमा कलेजो प्रत्यारोपण भएको ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । ‘कोषको जिवनमै यो महान कार्य भएको छ अध्यक्ष शाक्यले भन्नुभयो, कलेजोदाता चन्द्रकुमार केसीप्रति सम्मान प्रकट गर्दछौं ’

डा.निमेश र डा. विशाल समेतको टोलीले केसीको करिब ३० प्रतिशत कलेजो बालिकालाई प्रत्यारोपण गरिएको कोषका अध्यक्ष शाक्यले शनिवार कोषको सचिवालयमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो ।

कलेजोको समस्याबाट ग्रस्त ९ महिने बालिकालाई बचाउन कलेजो दान गरी मानवताको उच्च नमुना प्रस्तुत गर्नुभएकोमा उहाँ प्रति अहिले सामाजिक सञ्जालमा सम्मान प्रकट गरिएको छ ।

शुक्रवार राती ८ बजे र बालिकालाई ११ बजे आईसियुमा सारिएको छ । प्रत्यारोपणपछि कलेजो दाता लिभर डोनरले १५ दिन अस्पताल भर्ना भै डाक्टरको प्रत्यक्ष निगरानीमा तथा ६ महिना नियमित चेकअपमा बस्नु पर्ने हुन्छ । विरामीले भने ६ महिनासम्म अस्पतालमै डाक्टरको प्रत्यक्ष निगरानीमा रही उपचार गराउने छिन । ।

सायना उपचार अभियानको अगुवा म्याग्दीमा स्थापित परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गर्दै आएको छ । कलेजो प्रत्यारोपणपछि पनि थप उपचार गरिरहनु पर्ने भएकोले थप आर्थिक सहयोग आवश्यक रहेको कोषले जनाएको छ ।