सिंगा तातोपानी – पोखेर जोड्ने पुल निर्माण सुरु

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
माघ १८ गते ।बेनी नगरपालिका ४ सिंगा तातोपानी देखि मंगला गाउँपालिकाको बरंजालाई जोडनका लागि म्याग्दी खोला माथि पक्की मोटरेबल पुल निर्माण थालिएको छ । सडक डिभिजन कार्यालय बागलुङले बहुवर्षीय ठेक्का मार्फत बेनी – दरवाङ सडकको तातोपानी देखि पोखेर जोड्नका लागि म्याग्दी खोला तातोपानी मोटरेबल पुल निर्माण योजना अगाडि बढाएको हो । वर्षौ देखिको पहल पछि पुल निर्माणको योजना सुरु भएपछि बरंजावासीहरु उत्साहित भएका छन् ।

१७ करोड २९ लाख रुपियाँ कुल लागत रहेको योजनाको १० करोड ७२ लाखमा ठेक्का सम्झौता भएको छ । आगमी दुइवर्ष भित्रमा निर्माण सक्ने गरी २०७५ जेठ २५ गते लुम्बीनी प्राकृतिक जेभी सँग योजनाको ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख नारायण भण्डारीले जानकारी दिनुभयो ।

म्याग्दी खोलाको वारीपारी एक/एकवटा पिल्लर र विचमा दुइवटा गरी जम्मा चारवटा पिल्लर हुने पुल एकसय १७ मिटर लम्बाईका साथै चौढाई ११ मिटर हुने डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार यसलाई प्रिस्टेस कंक्रिट ब्रिज भनिन्छ । कुनै समस्या उत्पन्न नभएमा तोकीएकै समयसिमाभित्र योजना सम्पन्न हुने डिभिजन प्रमुख भण्डारीले विश्वास व्यक्त गर्नुभयो । ‘कार्यस्थलमा ठेकेदार कम्पनी परिचाल भएको छ प्रमुख भण्डारीले भन्नुभयो, निर्माणलाई तिव्रता दिनका लागि कार्यालयबाट अनुगमन र नियमनलाई प्रभावकारी बनाइन्छ ।’

तोकीएको समय भित्र योजना सम्पन्न गर्ने गरी कामदरा र उपकरण परिचालन गरिएको ठेकेदार कम्पनीका इञ्जिनियर विश्वास बस्नेतले बताउनुभयो । यो वर्ष दुइवटा पिल्लरको निर्माण काम सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । पुल निर्माण भएपछि मंगलाका ३ र ४ नम्बर वडाका वरंजाका सर्वसाधारणहरुलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

बरंजाका किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको मंगला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कविन्द्रप्रसाद रोकामगरले बताउनुभयो । पुलको अभावमा बरंजाका स्थानीयवासीहरुलाई आवतजावतमा कठिनाई पर्नुका साथै कृषि उपजलाई बजार सम्म पु¥याउन समस्या खेप्दै आएका थिए । पुल बनेपछि बरंजा हुँदै किमचोर देखि बागलुङको ताराखोला सम्म सिधा यातायात सञ्चालन हुने वडा अध्यक्ष रोकाले बताउनुभयो । पुल निर्माणका लागि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पछिल्लो समय पहल गर्नुभएको थियो ।