जिसस सभाहल निर्माण अघि वढ्यो

विकल्प न्यूज/बेनी
माघ ११ गते । संघियता कार्यान्वयन सँगै अलपत्र अवस्थामा रहेको जिल्ला समन्य समितिको सभाहल निर्माण योजना अगाडि बढाइने भएको छ । निर्माणधीन अवस्थामा रहेको सभाहल संघियता कार्यान्वयन सँगै विचमै रोकिएको थियो ।

तत्कालिन समयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट बजेट विनियोजन भई सभाहल निर्माण अगाडि बढाइएको थियो । सभाहल सम्पन्न नहुँदै मन्त्रालय खारेजीमा परेपछि दुइवर्ष देखि सभाहल निर्माण अलपत्र परेको हो ।

जिल्ला समन्वय समितिको पहलमा गण्डकी प्रदेश सरकार मार्फत बजेट विनियोजन गरि निर्माणधिन बहुउद्देश्यीय भवनलाई पूर्णता दिन लागिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।

सभाहल निर्माणलाई पूर्णता दिनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
अहिले सम्म एक करोड ४२ लाख खर्चेर दुई तले भवनको पिल्लर ठडाउने, दुई ढलान गर्ने काम भएपनि भवनमा पर्खाल लगाउने, प्लास्टर र रंगरोगन सहितको काम बाँकी रहेको छ ।

सभाहल निर्माण सम्पन्न गर्न करिब ३ करोड लागन अनुमान गरिएको छ । हालै उक्त योजना कार्यान्वयनको अबस्थाबारे स्थलगत निरिक्षणमा आउनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब इश्वरचन्द्र महराठाले जिसस सभाहललाई पूर्णता दिनका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

शहरी विकास तथा भवन कार्यालय बागलुङ मार्फत योजना कार्यान्वनको लागि ठेक्का प्रकृया सुरु भएको जिसस प्रमुख केसीले बताउनुभयो ।