योजना कार्यान्वयनमा जुट्यो पूर्वाधार विकास कार्यालय

विकल्प न्यूज/बेनी
माघ ११ गते ।

जिल्लाको सडक र मोटरेबल पुलको योजनाका लागि गण्डकी प्रदेशबाट विनियोजन भएको योजना तथा बजेट कार्यान्वयनमा पूर्वाधार विकास कार्यालय बेनी जुटेको छ । आर्थिक वर्ष २०७५\७६ को लागि प्रदेश सरकार मार्फत विनियोजनका योजनालाई कार्यान्वय गर्नका लागि कार्यालयले म्याग्दी र मुस्ताङका विभिन्न ६ वटा योजनाहरुलाई ठेक्का लगाउनको लागि बोलपत्र आह्वान गरीसकेको छ ।

प्रदेश सरकारले बहुवर्षीय ठेक्का लगाउने र एक निर्वाचित सांसद एक सडक अन्तरगत बजेट विनियोजन भएका योजनाहरुको कार्यान्वयनको लागि सूचना प्रकाशन लगायतका कार्यहरु अगाडी बढेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाले बताउनुभयो ।

सडक र पुलका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटलाई समयमै परिचालन गर्न जोड दिइएको उहाँले बताउनुभयो ।
यसै गरी प्रदेशस्तरबाट खटिएको टोलीले योजनाहरुको स्थलगत रुपमा अवलोकन गरेको छ । गलेश्वर–पिप्ले– भगवती सडक, बेनी–गलेश्वर, बेनी–दरबाङ सडक, जिल्ला समन्वय समितिको सभाहल लगायतका योजनाहरुको स्थलगत निरिक्षण गरेको थियो ।

गण्डकी प्रदेश मार्फत जिल्लामा बजेट विनियोजन भएका योजनाहरुको प्रभावकारी कार्यान्वयनको लागि गण्डकी प्रदेशका सांसद विनोद केसीले टोलीलाई पूर्वाधार निर्माणको योजनाहरुलाई उपलब्धी देखिने गरि कार्यान्वनयमा जुट्न आग्रह गर्नुभयो ।
सडक र मोटरेवल पुल योजना कार्यान्वयनका लागि मन्त्रालयबाट अख्तियारी आएका सबै योजनाहरुको कार्यान्वयको लागि विस्तृत अध्ययनको काम भैरहेको कार्यालय प्रमुख ढुंगानाले बताउनुभयो । म्याग्दी र मुस्ताङका सडक र पुल निर्माणका लागि चालु आर्थिक वर्षमा करिब २५ करोड रुपियाँ बजेट प्राप्त भएको कार्यालयले जनाएको छ ।