सडकमै चालकको प्रेसर र आँखा परिक्षण

विकल्प न्यूज/बेनी
माघ १० गते । म्याग्दीका सवारी चालकहरुको बिहीबार सडकमै रक्तचाप (प्रेसर) र आँखाको परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ पु¥याउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि कतिपय अवस्थामा दुर्घटना भएको हुँदा उनिहरुलाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक मित्रलाल ढकालले बताउनुभयो ।

बेनी–गलेश्वर सडकको जलेश्वरमा सञ्चालन गरिएको स्वास्थ्य परिक्षणका क्रममा ७५ जना चालकको आँखा र प्रेसरको परिक्षण गरिएको कार्यालयका बैकुण्ठ पौडेलले बताउनुभयो । सात जनामा रक्तचाप र दुई जनामा न्युन दृष्टिको समस्या भएको पाइएको थियो ।

समस्या देखिएकालाई औषधी सेवन गर्न र अन्यलाई नियमित ब्यायम गर्न, स्वास्थ्य परिक्षण गर्न चिकित्सकहरुले सुझाव दिएका थिए । खानपानमा पनि ध्यान दिन चालकहरुलाई स्वास्थ्यकर्मीको सुझाव छ ।