यस्ता छन् रघुगंगा गाउँकार्यपालिकाका निर्णयहरु

विकल्प न्यूज/बेनी
माघ ९ गते ।   म्याग्दीको रघुगंगा गाउँपालिकाले विकास निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा सोमबार गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक लगायतका पूर्वाधार निर्माणमा प्रयोग हुने मेसिनको अधिकतम भाडादर कायम गरेको हो ।

चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत सञ्चालन हुने योजनाहरुमा डोजरको प्रतिघण्टा रु ५ हजार ५ सय , ब्रेकरको प्रतिघण्टा थप १२ सय र ब्याकलोडरको प्रतिघण्टा रु २५ सय अधिकतम दररेट निर्धारण गरिएको गाउँपालिका कार्यपालिकाका प्रवक्ता एवम वडा नम्बर ३ का वडा अध्यक्ष जिवन कुमार मल्लले जानकारी दिनुभयो ।

निर्माण उपकरणको प्रयोगलाई व्यवस्थित, पारदर्शी र एकरुपता कायम गर्न भाडादर निर्धारण गरिएको हो । कार्यपालिका बैठकले वडा स्तरीय अनुगमानन समिति र गाउँपालिका स्तरीय अनुगमन समिति सिफारिसमा मात्रै योजनाको अन्तिम भुक्तानी दिन निर्णय गरेको छ भने हरेक वडामा मेलमिलाप केन्द्र स्थापना र केन्द्र संयोजक चयन समेत गरिएको प्रवक्ता मल्लले बताउनुभयो ।

त्यसैगरि गाउँपालिकाभित्र सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको अध्ययन गरि पहिचान र अतिक्रमण हटाउनको लागि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाको संयोजकत्वमा सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समिति गठन भएको छ । बैठकले गाउँपालिका अध्यक्ष भण्डारी संयोजक र स्रोत व्यक्ति बालकृष्ण उपाध्याय सदस्य सचिब रहनुभएको शिक्षा समिति गठन गरेको छ ।

बैठकले शिक्षा नियमावली बनाउने निर्माण गर्ने र गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि रु ४ लाख बजेट विनियोजन समेत गरेको छ । गाउँपालिकाभित्र रहेका ३५ वटा बालविकास केन्द्रलाई रु १० हजारको दरले शैक्षिक सामाग्री खरिद गरि उपलब्ध गराउने, स्रोत केन्द्र सुद्धिढीकरणको लागि रु ६४ हजार बजेट विनियोजन गरिएको छ ।

जडिबुटी व्यवसायलाई करको दायरामा ल्याउने र कर संकलन गर्ने वडालाई संकलीत कर मध्ये २५ प्रतिशत सम्बन्धित वडाको विकास निर्माण कार्यमा खर्च गरिने निर्णय समेत भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै कार्यालय सहयोगी डोल (गोपी) बहादुर भण्डारीलाई नगद रु १५ हजार सहित सम्मान गर्ने निर्णय समेत गरेको छ ।

गाउँपालिकाले गलेश्वर–पिप्ले–मौवाफाँट सडक खण्डमा अत्यधिक धुलोको कारण वातावरण प्रदुषण बढेको भन्दै राहुघाट जलविद्यूत आयोजनाको ठेकेदार कम्पनीलाई नियमित रुपमा पानीले भिजाउने प्रवन्ध गर्नको लागि जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गर्ने निर्णय समेत गरेको छ ।