विकल्प न्यूज/बेनी
पुस ३० गते । यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाले वातावरण संरक्षणका प्रावधान मिच्दै काम गरिरहेको पाइएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माणकर्ता समूहले यस्तो गरेको हो ।
आयोजनालाई निर्माण सामग्री उपलब्ध गराउन ठेकेदार कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसरले वैधानिक प्रक्रियाविपरीत नदीजन्य पदार्थको लापरवाहीपूर्वक उत्खनन गरेको, आयोजनाबाहेकका अन्य क्षेत्रमा गिटी, बालुवा बिक्री गरेको र स्थानीय सरकारलाई कर छलेको भेटिएको हो । मिस्त्रीखोला अन्नपूर्ण संरक्षण आयोजना ९एक्याप० भित्र पर्छ ।
‘सूचना आएपछि हामीले स्थलगतरूपमा बुझ्न लगाएका हौं, वातावरणीय प्रावधान मिचेर काम गरेको बुझिएको छ,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘काम गर्न इजाजत दिइएको विवरणसहित हामीले आयोजना र एक्यापलाई सोधेका छौं ।’
आफ्नो क्षेत्रभित्र निर्माणाधीन आयोजनाले गर्ने गतिविधिले पर्ने वातावरणीय असरको नियमन एक्यापको जिम्मेवारी हो । उक्त आयोजना आफ्नो जिम्मेवारीमा उदासीन रहेको आरोप स्थानीयको छ ।
अन्नपूर्ण गाउँपालिकाको ४, ५ र ६ वडा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छन् । ‘गाउँपालिकाभित्रका प्राकृतिक वस्तु तथा पदार्थ बिनामूल्य उत्खनन भइरहेको छ,’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले भने, ‘हामी सबै नदी तथा खोलाको वातावरणीय प्रभाव मूल्यांकनअनुसार करको दायरामा ल्याउने तयारीमा छौं । अब सबैखाले व्यवसाय अनिवार्य दर्ता गराई करको दायरामा ल्याउँछौं । अटेर गरे कारबाही पनि गर्छौं ।’ मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा प्रभावित अन्नपूर्ण–४ नारच्याङमा असर न्यूनीकरण र सामाजिक विकास कार्यक्रम सञ्चालन गर्न ३ करोड १६ लाख रुपैयाँ खर्च गर्न सुझाइएको छ । तर, आयोजनाले आफ्नै वातावरणीय प्रभाव प्रतिवेदनको पनि पालना गरेको छैन । आयोजनाले प्रभावित क्षेत्रमा २ सय ६७ वटा विभिन्न प्रजातिका रूख फँडानी गरे पनि शोधभर्ना स्वरूप गर्नुपर्ने वृक्षरोपण गरेको छैन । एउटा रूख काटे बराबर चार बिरुवा रोपेर हुर्काउनुपर्ने नियम छ ।
आयोजनाले सर्वसाधारणले झट्ट देख्ने सामाजिक विकासतर्फ स्थानीय विद्यालयमा शिक्षकको तलबभत्ता, हेल्थपोस्ट, युवा क्लबको खेलमैदान र आमा समूहको भवन जस्ता पूर्वाधारमा मात्र खर्च गरेको छ । ‘वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले तोकेअनुसार नै हामीले असर न्यूनीकरण र सामाजिक विकास कार्यक्रम चलाएका छौं ।
आयोजनाले काटेका रूखको सट्टामा ५ सय बिरुवा रोपे पनि डढेलोले खाएको हो । फेरि रोप्ने योजनामा छौं,’ आयोजनाका वातावरण इकाइ प्रमुख रामकुमार खडकाले भने, ‘जैविक विवधिता संरक्षणको क्षेत्रमा हामीले वनस्पतिविज्ञ समेतको टोली झिकाएर यहाँको अध्ययन गराएका छौं । भौतिक वातावरणमा बाढीपहिरो नियन्त्रणमा बढी खर्च भएको छ ।’
प्रतिवेदनमा जैविक वनस्पतिको नर्सरी स्थापना गर्ने भनिए पनि आयोजनाले झन्झटिलो भएको भन्दै आएको छ । वातावरणविद् खडकाले वातावरण अनुकूलन हुने वनस्पतिको नर्सरी बनाई बिरुवा रोप्ने भनिए पनि समय अभावले बिरुवा हुर्काउन असम्भव भएको दाबी गरे ।
यसैबीच संघीय सरकारले हालै मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माणकर्ता रोबस्ट इनर्जी लिमिटेडलाई पावरहाउस रहेको नारच्याङबाट ४ किमि परको दानास्थित सबस्टेसनसम्म १३२ केभीए प्रसारण लाइन जोड्न ७ हेक्टर सरकारी जग्गा स्थायी रूपमा प्रयोग गर्न र थप १ सय ९३ वटा रूखबिरुवा काट्न अनुमति दिएको छ । ‘ट्रान्समिसन लाइनतर्फको वातावरणीय प्रभाव मूल्यांकन हुँदैछ,’ आयोजनाका वातावरण इकाइ प्रमुख खडकाले भने, ‘हाइटेन्सन लाइन बस्ती नजिकै पर्ने र केही सल्लोका रूख काट्नुपर्ने हुन्छ ।’
नारच्याङमा नीलगिरि र अन्नपूर्ण साउथ हिमालबाट झर्ने नीलगिरि, रेले र घलेम्दी मिसिएपछि बन्ने मिस्त्रीखोलामा आधा दर्जन जलविद्युत् आयोजना छन् । ५ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न हुने अन्तिम चरणमा छन् ।
मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको रोबष्ट इनर्जीले सोही खोलामा निर्माण गर्ने ३८ मेगावाटको नीलगिरि प्रथम, ६२ मेगावाटको नीलगिरि दोस्रो र छुट्टै कम्पनीले निर्माण गर्ने ९।१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले पनि वातावरणीय प्रभाव मूल्यांकनबिनै धमाधम प्रवेश मार्ग निर्माण गरिरहेका छन् ।
आयोजनाको प्रवेश मार्ग निर्माण गर्दा निस्केका ढुंगा–माटो लापरबाहीपूर्वक फाल्दा भोजपत्र, गोब्रेसल्ला, लोठसल्ला र गुराँस लगायतका रूखसँगै निगालोका झाडी मासिएको स्थानीयले बताएका छन् । निगालाको झाडी हिमाली कालो भालुको वासस्थान पनि हो । मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माता रोबस्ट इनर्जीले आयोजनाको क्याचमेन्ट एरियामा जैविक विविधताको अध्ययन गर्दा मनाङ र मुस्ताङमा मात्र पाइने गुराँसको एक प्रजाति यहाँ फेला परेको थियो । कान्तिपुरमा समाचार छ