बेनी संरक्षण योजना ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता

विकल्प न्यूज/बेनी
पुस २८ गते ।  बेनी बजार संरक्षण योजनामा भएको ढिलाईप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । गत भदौंको अन्तिम साता कालिगण्डकी नदीमा आएको बाढीका कारण कटानको उच्च जोखिममा परेको सदरमुकाम बेनीलाई संरक्षण गर्ने योजना समयमै सुरु हुननसक्दा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन ।

सदरमुकाम बेनीलाई संरक्षण गर्न कालिगण्डकी नदी किनारमा निर्माण गर्न लागिएको पक्की तटबन्धन योजना कार्यान्वयनको बारेमा शनिवार बेनी नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा सरोकारवलाहरुले समयमै योजनाको काम अघि वढ्न नसकेकोप्रति आक्रोस व्यक्त गरेका थिए ।

समयमै योजनाको काम अघि वढ्न नसक्दा अव आउने बर्खामा बजार कटानको जोखिममा पर्ने सक्ने खतरा रहेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँले बजारलाई संरक्षण गर्नका लागि समयमै योजनाको काम थाल्नुपर्ने बताउनुभयो ।

छलफलमा सहभागी बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधि, म्याग्दीका राजनीतिक दल एवम सरोकारवालाहरुले कालिगण्डकी नदीको कटानबाट दुवै तर्फको बजारलाई सुरक्षित राख्न दुबैतिर एकैपटक संरक्षणको काम थाल्नुपर्ने सुझाब दिएका छन् ।  टेण्डर प्रक्रियाबाट योजना अघि बढाउँदा लामो समय लाग्ने हुँदा योजनालाई तिन चार भागमा विभाजन गरी उपभोक्ता समिति मार्फत गर्नुपर्ने प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापाले सुझाव दिनुभयो । भदौं २७ गते कालिगण्डकी नदीमा आएको वाढीले बेनी संरक्षणका लागि निर्माण गरिएको करिब एकसय पचास मिटर पक्की पर्खाल भत्काएको थियो । पर्खाल भत्किँदा बजार नदी कटानको उच्च जोखिममा परेको छ । नदीले जलजला गाउँपालिका ३ पर्वत बेनीको भाग पनि कटानको उच्च जोखिममा परेको छ ।

नदी कटानबाट बेनीलाई जोगाउन सुरु गरिएको बेनी संरक्षण आयोजना पुरा नहुँदै भत्किएका कारण बजार कटानको उच्च जोखिममा परेको हो ।  बेनी बजार संरक्षणको लागि संघिय सरकारको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्र्तगत जलस्रोत तथा सिँचाई विभाग मार्फत रुपाताल संरक्षण एकिकृत विकास परियोजनालाई बजार संरक्षणको कार्य जिम्मा दिएको छ ।

बजार संरक्षण योजनाका लागि चालु आर्थिक वर्षमा ३ करोड पचास लाख र पर्वत बेनीका लागि एककरोड पचास लाख रुपियाँ विनियोजन भएको परियोजना प्रमुख रामप्रसाद अर्यालले बताउनुभयो । बजेटको अभाव छैन् के कसरी योजना अघि वढाउने भन्ने प्रक्रियागत विषय फाइनल नहुँदा संरक्षणको कामले गति लिन नसकेको उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रदेश सभा सदस्य विनोद केसी, पूर्व सभासद रेशमबहादुर बानियाँले तत्काल बेनीमा सम्पर्क कार्यालय राखेर बजार संरक्षणको कामलाई अघि बढाउन अनुरोध गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, प्रजिअ लिलाधर अधिकारी लगायत जनप्रतिनिधि र सरोकारवालाहरुले बैशाख अघिनै बजार संरक्षणको लागि अस्थायी रुपमा संरक्षणको काम सक्नुपर्ने बताउनुभयो । सरोकारवालाहरुको सुझाब बमोजिम संरक्षणको कामलाई छुट्टाछुट्टै उपभोक्ता समिति मार्फत अघि बढाउने तयारी गरिएको रुपाताल संरक्षण एकिकृत विकास परियोजनाका प्रमुख अर्यालले बताउनुभयो । परियोजना प्रमुख अर्याल र ईन्जिनियर कृष्णबहादुर विकले नदी कटानबाट बजार जोगाउनको लागि सञ्चालन हुन लागेको आयोजनालाई प्रभाबकारी कार्यान्वनयको लागि स्थानीय सरकार र समुदायबाट रचनात्मक सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो । समयमै योजना अघि बढाउन नगरपालिकाले आवश्यक सवै किसिमको सहयोग गर्न तयार भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । पक्की संरचना निर्माण गर्न समय लाग्ने भएकाले हाललाई अस्थायी प्रकृतिको संरचना निर्माण गरी नदी कटानको जोखिमबाट बजारलाई सुरक्षित गर्ने योजना रहेको अधिकृत सुवेदीले बताउनुभयो ।