ताजा समाचार:
Search

नेपालमै पहिलो बन्यो मालिका गाउँपालिका – सवै वडामा हेलीप्याड निर्माण

विकल्प न्यूज/बेनी
पुस २७ गते ।  म्याग्दीको पश्चिम मालिका गाउँपालिकाका सवै वडामा हेलीप्याड निर्माण गरिएको छ । स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले मालिकाका सातै वडामा हेलीप्याड निर्माण गरेको हो ।

भौगोलिक रुपमा विकट रहेको मालिकाका गाउँहरुमा हेलीप्याड निर्माण भएपछि विपद् व्यवस्थापन र आपतकालिन उद्धारमा सहयोग मिल्ने विश्वास गरिएको छ । मालिकाका दुर्गम वडा नम्बर ५ देवीस्थान,४ ओखबोट,१ निस्कोट,३ रुम,२ रुमडाँडामा हेलीप्याड निर्माण गरिएको छ । यसै गरी ७ बिममा पनि हेलीप्याड निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । गाउँपालिकाको केन्द्र दरवाङमा यसअघि नै हेलिप्याड निर्माण गरिएको थियो ।

विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार मालिकाका सवै वडामा पुगेर हेलीप्याड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । सबै वडामा हेलीप्याडयुक्त गाउँपालिकामा मालिका पहिलो भएको प्रजिअ अधिकारीले दावी गर्नुभयो । हेलीप्याड निर्माणका लागि मालिकाका स्थानीयवासीहरुले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् ।

हेलीप्याड निर्माणका लागि शसस्त्र र नेपाल प्रहरीले प्राविधिक सहयोग गरेका छन् । विहिवार मालिका ४ ओखरबोटमा हेलीप्याड निर्माण कार्य सम्पन्न भएपछि मालिका गाउँपालिकाका सवै वडमा हेलीप्याड निर्माण भएको शसस्त्र प्रहरी नायव उपरिक्षक अनिल कार्कीले बताउनुभयो । मंसिरबाट थालिएको अभियानका क्रममा अहिले सम्म जिल्लाका विभिन्न वडामा गरि ११ वटा हेलीप्याड निर्माण गरिएको छ । अन्य वडामा पनि हेलीप्याड निर्माणलाई निरन्तरता दिने प्रजिअ अधिकारीले बताउनुभयो ।