बेनी नगरपालिकाद्वारा डिपिआर बनाउन पूर्वाधार योजना छनौट

विकल्प न्यूज/बेनी
पुस २३ गते । बेनी नगरपालिकाले सहरी विकास तथा भवन निर्माण विभागले तयार पार्ने डिपिआरका लागि सोमबार योजना छनौट गरेको छ ।

बिभागले तीस/तीस करोड रुपैयाँका दुई वटा योजनाको लागि डिपिआर तयार बनाउन प्राथमिकता निर्धारण गर्न नगरपालिकालाई आग्रह गरेको थियो ।

विभागको आग्रह अनुसार सोमबार नगरपालिकामा भएको छलफलपछि नगरपालिकाको मुख्य नारा तय गरेर पूर्वाधार योजनाहरुको प्राथमिकता निर्धारण गरिएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिकाले ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्बृद्ध बेनी नगरको आधार’ भन्ने मुल नारा तय गरिएको छ ।

डिपीआर तयार पार्नका लागि बेनी–अर्थुङ्गे–घतान–पात्लेखेत, बेनी–अर्थुङ्गे–पुलाचौर–जगन्नाथ सडक र बेनी–भकिम्ली–स्वर्गाश्रम सडकलाई प्राथमिकता निर्धारण गरिएको प्रवक्ता बराइलीले बताउनुभयो ।

पर्यटन तर्फ सिंगा तातोपानी कुण्ड, बेनपा ६ आँपरुखमा रामायण पार्क र ५ पुलाश्रममा रावण पार्कको डिपीआर तयार पार्न प्राथमिकता तय गरेको छ ।

कालीपुल बसपार्कको डिपीआर कार्यान्वयन, बेनी बजारका मठमन्दिर, बेनपा ७ मा बाल उद्यान, बेनपा ८ मा जेष्ठ नागरिक दिवाकालिन सेवा केन्द्र बनाउनका लागि डिपिआरको प्रस्ताव गरिएको छ ।

विभागले तयार पारेको डिपिआर अनुसार स्रोत खोजेर योजना कार्यान्वयन गरिने प्रवक्ता बराइलीले बताउनुभयो ।