जलजलाको बगरफाँटमा आयोजित महायज्ञमा करिब ४८ लाख रुपैयाँ संकलन

विकल्प न्यूज/बेनी
पुस २३ गते । जलजला गाउँपालिका २ बगरफाँटमा सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित महायज्ञमा करिब ४८ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

पुष १७ गतेदेखि सुरु भएर सोमबार समान भएको महायज्ञमा ४८ लाख दश हजार ५०० रुपैयाँ सहयोग जुटेको महायज्ञ मुल आयोजक समिति अन्तरगत प्रचारप्रसार उपसमितिका संयोजक कृष्ण जिसीले जानकारी दिनुभयो । यसैगरी करिब तीस मुरी धान पनि संकलन भएको छ । अन्तिम दिन सोमबार सात लाख रुपैयाँ संकलन भएको छ ।

सात दिनसम्म सञ्चालन भएको महायज्ञमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक लाख ३५ हजार रुपैयाँ, जलजला ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले एक लाख ३५ हजार रुपैयाँ, म्याग्दीका निर्माण व्यवसायी नारायण जिसीले एक लाख ११ हजार रुपैयाँ र मुल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले एक लाख पाँच हजार रुपैयाँ दान गर्ने घोषणा गर्नुभएको छ ।

मुल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालको अध्यक्षता, नविन जिसीको सञ्चालन र वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख वाचक कमलनयन गौतम, कलाकार, सहयोगदाता, आयोजक समिति र सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । बगरफाँटमा रहेको सिद्धबाबा प्रा.विमा निजी स्रोतका शिक्षकको तलबभत्ताको व्यवस्थापन, भौतिक र शैक्षिक गुणस्तरका साथै विद्यालयको तह थप गर्नका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो ।हाल कक्षा १ सम्मको पठनपाठन सञ्चालन हुने सिद्धबाबा आधारभुत विद्यालयको तह थप, निजी शिक्षकको तलब व्यवस्थापन र भौतिक पूर्वाधार सुधार गर्न आयस्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको अध्यक्ष हिराबहादुर बरुवालले बताउनुभयो । करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सामुदायिक विद्यालय नहुँदा त्यहाँका बालबालिकाहरु अध्ययनका लागि म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेका विद्यालयमा आउने गरेका छन् । बस्ती विकास हुदै गएको बगरफाँटमा कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयको आवश्यकता महशसु गरेर तह थप गर्दै लैजाने उद्देश्य अनुसार अघि बढीएको २ नम्बर वडाका अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।