ताजा समाचार:
Search

व्यवसायी केसीद्धारा कालीपुलमा नाली मर्मत गरेर ढल व्यवस्थापन

बिकल्प न्युज
बेनी पुस २२ गते ।

म्याग्दी प्रवेशद्धार बेनीको कालीपुल बसपार्कको सडक छेउको नाली एक व्यवसायीले व्यक्तिगत खर्चमा मर्मत गर्नुभएको छ ।

कालीपुलको केवी अटो पाट्र्स एण्ड मोटरसाईकल सर्भिस सेन्टरका सञ्चालक खेम केसीले सडकबाट बग्ने ढललाई नाली बनाएर व्यवस्थापन गर्नुभएको हो ।

दुई दिनसम्म चार जना मजदुर र चार घण्टा ब्याकुहोलोडर परिचालन गरेर करिब फुटेर बुझिएको नाली सफा गराउनुभएको छ । यसैगरी कालीपुलदेखि पिपलचोक सम्म जाने सिढीको बाटोमा भएको काठ र फोहोर समेत हटाएर सरसफाई गरिएको केसीले बताउनुभयो ।

करिब पचास मिटर नाली सरसफाई गरिएपछि होटल र घरहरुबाट निस्कने ढल सडकमा बग्ने समस्या हटेको छ । नाली सरसफाई र व्यवस्थापनमा केसीले तीस हजार रुपैयाँ भन्दा बढी व्यक्तिगत रुपमा खर्च गर्नुभएको छ ।

 

वडा कार्यालय, नगरपालिका लगायत निकायमा पटक पटक अनुरोध गर्दा समेत वेवास्ता भएको अवस्थामा व्यवसायी केसीले नाली सफाईका साथै माटो ल्याएर सडकको खाल्डाखुल्डी पुरेर सहनीय काम गर्नुभएको कालीपुलबासीले बताएका छन ।

नालीको ढल सडकमा तलाउ बनेर चिप्लीने र दुर्घटनाको जोखिम थियो । यसैगरी सर्वसाधारणलाई आवत जावत गर्न पनि समस्या भएको थियो ।