बन्दुक देखाएर किमचौरमा लुटपाट गर्ने समुह प्रहरी नियन्त्रणमा

विकल्प न्यूज/बेनी
म्याग्दी, २० पुस ।  म्याग्दी जिल्लाको मंगला गाउँपालिका –५ किमचौरमा बन्दुक देखाएर लुटपाटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । किमचौरकी ६३ बर्षिया बृद्धा लीलमती बुढाथोकीको घरमा एकनाले भरुवा बन्दुक देखाउँदै लुटपाटको प्रयास गर्ने मंगला गापा–३ बरंजा भाँक्रिपानी घर भई हाल बागलुङ ताराखोला बस्ने ५५ बर्षिय पुथलाल छन्त्याल, भाँक्रिपानीका ३३ बर्षिय टेकेन्द्र छन्त्याल, सोही गाउँकी ३३ बर्षिया टुकमायाँ छन्त्याललाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । लुटपाटमा संलग्न मध्ये अर्मनकै एकजना फरार रहेको जनाइएको छ ।

लुटेराबाट प्रहरीले लोड अवस्थामा रहेको अवैध एकनाले भरुवा बन्दुक र १६० ग्राम लागुऔषध चरेश फेला पारेको प्रहरी निरिक्षक लोक बहादुर गुरुङले बताए । नियन्त्रणमा लिइएका विगतमा समेत लुटपाटमा संलग्न भएको हुनसक्ने प्रहरीको भनाई छ ।

पक्राउ परेका तीनैजनालाई जिल्ला अदालतबाट हातहतियार तथा खरखजना र लागुऔषध चरेश मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । गत मंसिर महिनामा समेत किमचौरकै लीलमतिको घरमा नगद र सुनचाँदी लुटपाट भएको थियो । एक्लै घरमा भएको मौका छोपी लुटपाट गर्न गएका लुटेरासंग बुढाथोकी एक्लै प्रतिबाद गरेको बताईएको छ ।