सिञ्जालीद्धारा बरंजाको महेन्द्ररत्न माविलाई डेढ लाख सहयोग

विकल्प न्यूज/बेनी
पुस २० गते । 

 

म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा रहेको महेन्द्ररत्न माविको ६० औ वार्षिकोत्सव बिहीबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

विद्यालयका विद्यार्थी र अभिभावकहरुबीच खेलकुद प्रतियोगिता तथा समारोहको आयोजना गरेर दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मंगला गाउँपालिका ४ न्यूखोला घर भई हाल तातोपानी बस्नुहुने चन्द्रबहादुर सिञ्जालीले एक लाख पचास हजार ६३० रुपैयाँ सहयोग गर्नुभएको छ ।

कक्षा ११ र १२ सञ्चालनका लागि सहयोग गर्नुभएका सिञ्जालीलाई सम्मान गरिएको थियो । सिञ्जालीले ३ र ४ का १२ वटा विद्यालयलाई कम्तीमा पन्ध्र हजार रुपैयाँ सहयोग गर्नुभएको । सिमलचौर, बाबियाचौर र सिंगाका शैक्षिक संस्थाहरुलाई पनि सहयोग गर्नुभएको छ ।

विद्यालयमा स्थापित तीन लाख पाँच हजार रुपैयाँको अक्षयकोषमा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडा न. ३ का अध्यक्ष कबिन्द्र रोकाको परिवारले पाँच हजार पाँच रुपैया थप गर्नुभएको छ । रोका परिवारले दश वर्ष पहिले स्थापना गर्नुभएको कोषमा प्रत्येक वर्ष पाँच हजार पाँचका दरले रकम थप गर्दै आउनुभएको छ ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले बालबिवाहको असर सम्बन्धी नाटक प्रस्ततु गरेका थिए । नाटकबाट प्रभावीत भएर कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पाँच हजार रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराउनुभएको थियो । मंगलाका सबै माविमा नाटक प्रर्दशनीको अवसर दिलाउने प्रतिवद्धता जनाउनुभयो ।

यसैगरी मंगला गाउँपालिका ३ का वडा सदस्य लिला बि.कले आफ्नो पारिश्रमिकबाट विद्यालयलाई पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रोकाले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय र शिक्षकहरुले कार्ययोजना बनाएर पालिकासँग सम्झौता गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रअ कृष्णलाल सापकोटाले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर रोकाको अध्यक्षता, शिक्षक डम्मरराज सुवेदीको स्वागत र होमनाथ शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा दिर्घसेवी शिक्षक दुर्गालाल उपाध्याय र शुशिला थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बाल कल्वका अध्यक्ष राम परियार, चन्दादाता रामविर रोका, तारानाथ सापकोटा र कलाधर कडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।