ताजा समाचार:
Search

मालिकाका एक हजार ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण

विकल्प न्यूज/बेनी
पुस १७ गते । 
म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजार जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई गाउँमै परिचयपत्र वितरण गरेको छ ।

सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना जेष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

एक हप्ता १ नम्बर वडा निस्कोटबाट सुरु भएको घुम्ती शिविर बुधबार गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङमा समापन गरिएको छ । शिविरको क्रममा ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिनुका साथै स्वास्थ्य उपचार, कृषकलाई बिउ, बिजन, पशुपक्षिको उपचारका लागि निशूल्क औषधी र परामर्श सेवा दिइएको थियो ।

वडामै परिचयपत्र पाउँदा जेष्ठ नागरिक र अशक्तहरुलाई गाउँपालिकाको कार्यालयमा पुग्ने समय र खर्चको बचत, झञ्जट हटेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै पुगेर परिचयपत्र वितरण गरेका हुन् ।

अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष बिटालु, प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका प्रमुख राजेश थापा, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरहरुको टोलीले सेवा दिनुभएको थियो ।

परिचयपत्रको आधारमा ६० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुले स्वास्थ्य उपचार, यातायात लगायत सेवामा छुट सुबिधा पाउने व्यवस्था छ । अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको छ ।