प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, पुस १८ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले अन्तर्राष्ट्रिय शिक्षा नीतिसँग प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको बुधबार बेनीमा २८औं वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले विगतमा शिक्षा लिने र दिने सवालमा त्रुटिहरु भएको हुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालले प्रतिस्पर्धा गर्न नसकेको बताउँदै अब विकसित मुलुकको शिक्षा नीतिसँग प्रतिस्पर्धा गर्नेगरी शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले आज हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको बताउँदै विकसित मुलुकका विश्वविद्यालयबाट उत्पादित जनशक्तिहरुसँग प्रतिस्पर्धा गर्नसक्ने खालको शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले नेपालको शिक्षामा समस्या रहेकाले विगतमा उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय बजारमा बिकाउ हुन नसकेको बताउनुभएको छ । उहाँले अबको शिक्षा गुणस्तरीय, प्राविधिक तथा व्यावसायिक हुनुपर्ने भन्दै आधुनिक प्रविधिको प्रयोग गरेर व्यवहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा नीतिमा समेत परिमार्जन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
संविधानमा लेखिएका हक अधिकारलाई पुरा गर्नका लागि राज्यको क्षमता विकास गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले देशको विकास र समृद्धिको यात्रामा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । शिक्षाका लागि आवश्यक ऐनहरु बनाइसकिएको भन्दै उहाँले संविधान कार्यान्वयन गर्ने सवालमा कोही पनि सत्तापक्ष र प्रतिपक्ष हुन नसक्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सीनाले क्याम्पस सञ्चालक समिति, प्राध्यापक, विद्यार्थी र अभिभावक मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सामुदायिक क्याम्पसमा सबै विद्यार्थीहरु आएर अध्ययन गर्ने वातावरण निर्माण गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले क्याम्पसको विकासका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने भन्दै अध्यापनरत प्राध्यापकहरुले शैक्षिक विकासमा विशेष ध्यान पु¥याउन सुझाव दिनुभयो । सामुदायिक क्याम्पसमा विद्यार्थीमैत्री वातावरण निर्माण गरी सिर्जनात्मक तरिकाले अध्ययन, अध्यापन गराउनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाले प्राध्यापकहरुले औपचारिक मात्र नभई सिर्जनात्मक ढङ्गले क्याम्पसमा शिक्षा प्रदान गर्नुपर्ने बताउँदै अभिभावकहरुले पनि आफ्ना छोराछोरीको पढाइमा ख्याल राख्नुपर्ने बताउनुभयो ।
उहाँले समाज र राष्ट्रप्रति समर्पित भई उत्तरदायी भएर अगाडि बढ्नुपर्ने भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा प्राध्यापक, क्याम्पस तथा अभिभावक जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको थियो ।
अध्यक्ष तिमिल्सीनाले विद्यार्थीहरुलाई उत्कृष्ट खेलाडी, कलाकार, डाक्टर, पाईलट, इन्जिनियर बन्ने गरी अध्ययन गर्न आग्रह गर्दै शैक्षिक वातावरण निर्माण र गुणस्तरीय शिक्षा लिनका लागि सक्रिय हुन सुझाव दिनुभयो ।
उहाँले पढ्नुको अर्थ खाली जागिर खानलाई मात्र नभई अन्य विविध क्षेत्रमा लागेर सामाजिक सेवा गरी राष्ट्रलाई योगदान पु¥याउछु भन्ने उद्देश्यका साथ अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । मानसिकता परिवर्तन गरेर हरेक क्षेत्रमा व्यावसायिक रुपमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।