ताजा समाचार:
Search

नारच्याङमा अबैध क्रसर उद्योग चलाएर ब्रह्मालुट

विकल्प न्यूज/बेनी
पुस १७ गते ।जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा लामो समय देखी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जलविद्युत आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको चरम दुरुपयोग गरेको खुलासा भएको हो । नारच्याङको पटार स्थित मिस्त्री खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गर्ने गरिएको छ । नदी किनारमा जथाभावी रुपमा एक्साभेटर प्रयोग गरेर गिटी,बालुवा र ढुङ्गा उत्खनन् गर्ने गरिएको हो ।

नारच्याङमा निर्माणधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको आडमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेर नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन् गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले बताउनुभयो । अवैध रुपमा सञ्चालन भएको क्रसरलाई कानुनी दायरामा ल्याउन गाउँकार्यपालिकामा छलफल भएको उहाँले बताउनुभयो । जलविद्युतको नाममा भएपनि क्रसरले गाउँपालिकालाई कर तिर्नुपर्दछ अहिले सम्म कर तिरेको छैन उहाँले भन्नुभयो ।

क्रसरले लापरबाही तरिकाले नदीजन्य पदार्थको उत्खनन् गर्दा आसपासका क्षेत्र समेत जोखिममा परेका छन् । मिस्त्रीखोलाको नाममा अनुमति लिएर केही स्थानीयको समेत लगानीमा सञ्चालित क्रसरले दिनहुँ बेनी–जोमसोम सडकखण्ड,दाना सवस्टेसन,पक्की पुल लगाएतका योजनाहरुमा सामाग्री विक्री गर्ने गरेको छ । जलविद्युत आयोजनाले सञ्चालन गरेको हो भने बाहिर विक्री गर्न पाइदैन गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

गाउँपालिकालाई क्रसरले कर पनि तिरेको छैन । जलविद्युत आयोजनाकै भएपनि नदीजन्य पदार्थको उत्खनन् गर्दा स्थानीय तहलाई कर बुझाउनु पर्ने प्रावधान छ ।

मिस्त्री खोला जलविद्युत आयोजनाको मिलेमतोमा क्रसर सञ्चालन भएको स्थानीयहरु बताउँछन् । अवैध रुपमा सञ्चालन भएको क्रसरलाई कानुनी दायरामा ल्याउनुपर्ने स्थानीयहरुले माग गरेका छन् । जलविद्युत आयोजनाको आडमा सिमित व्यक्तिहरुले फाइदा लिने गरेको नाम नछाप्ने सर्तमा एक स्थानीयले भने । क्रसर सञ्चालन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डलाई पनि मिचिएको ति स्थानीयले गुनासो पोखे । क्रसरले सिमित ब्यक्तिलाई फाईदा भएपनि गाउँलेलाई सास्ती भएको ती व्यक्तीले बताए ।

मिस्त्रीखोला आयोजनाको नजिकै अर्को क्रसर समेत सञ्चालनमा रहेको छ । आयोजनालाई आवश्यक पर्ने निर्माण साम्रागी आफ्नै क्रसरबाट उत्पादन गर्ने गरेपनि जलविद्युत आयोजनाले समेत अवैध उत्खनन्मा सघाइरहेको स्थानीयको गुनासो छ । दैनिकजसो चारपाँच टिपरले साम्रागी बाहिर लैजाने गरेको स्थानीयले बताए ।

एक्साभेटरले नदीजन्य पदार्थको उत्खनन गर्दा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) समेत चुपचाप छ । क्रसर सञ्चालक र एक्याप विच मिलेमतो हुनसक्ने स्थानीयले आरोप लगाएका छन् । क्रसर उद्योगको विरोधमा स्थानीयहरु खुलेर बोल्न डराउने गरेका छन् । क्रसरको वारेमा बोल्दा पत्रिकामा नाम नछाप्न उनीहरुले अनुरोध समेत गरे ।

जलविद्युत आयोजनाले आवश्यक पर्ने निर्माण साम्रागीका लागि प्रक्रिया पुरा गरी क्रसर उद्योग सञ्चालन गर्न पाउने भएपनि व्यवसायिक रुपमा प्रयोग गर्ने कानुनी प्रावधान नभएपछि उक्त क्रसर उद्योगमा उत्पादन गरिएको साम्रागीलाई अनुमतिको आडमा अन्य आयोजनामा पु¥याउने गरिएको छ । क्रसर उद्योगका बारेमा मिस्त्री खोला आयोजना समेत मौन बस्ने गरेको छ ।

नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले क्रसर उद्योगका बारेमा आफूलाई कानुनी कुराहरु जानकारी नभएको बताउनुभयो । जलविद्युत आयोजनाले नै सञ्चालन गरेको भन्ने जानकारी छ,बैध र अबैधका वारेमा आफूलाई कुनै जानकारी छैन, उहाँले भन्नुभयो । क्रसर उद्योगका बारेमा पटकपटक गुनासो आउने गरेपनि जलविद्युत आयोजना मौन बस्ने गरेको उहाँले बताउनुभयो ।

क्रसर उद्योगका कारण पटार,बास्बोट जोड्ने सडक जोखिममा परेको छ । दैनिक सञ्चालनमा रहेको क्रसरका बारेमा स्थानीयले चर्को विरोध गर्ने गरेपनि सञ्चालनक नै ठुला राजनीतिक दलमा आवद्ध रहेकाले समस्या भएको बताइन्छ । क्रसरमा लाखौं घनमिटर नदीजन्य पदार्थ भण्डारण गरिएको छ ।

यता क्रसर सञ्चालक तेज गुरूङले जलविद्युत आयोजनाको क्रसर भएकाले अवैध भन्न नमिल्ने बताउनुभयो । हामीले वाहिर सामाग्री विक्री गरेको भन्ने कुरामा सत्यता नभएको उहाँले बताउनुभयो ।

गुरुङ अन्नपूर्ण संरक्षण परियोजना नारच्याङ ब्यवस्थापन समितका अध्यक्ष हुनुहुन्छ । जलविद्युत सञ्चालन गरेवापत स्थानीयलाई समेत आम्दानी हुने गरी आयोजना र स्थानीयको संयुक्त लगानीमा स्थापना गरिएको गुरूङको दावी छ । जलविद्युत आयोजनाकै नाममा भएकाले क्रसरलाई अवैध भन्न नमिल्ने गुरुङको दावी छ ।

क्रसरका अर्का सञ्चालक ओमबहादुर बुढाथोकी ब्यवस्थापन समितिका सचिव हुनुहुन्छ । आयोजना र एक्यापको आडमा दैनिक नदी उत्खनन् गरी ख्ुलेआम विक्री हुँदा समेत स्थानीय जनप्रतिनिधि, प्रहरी लगाएतका सरोकारवाला निकाय समेत मौन छन् । क्रसरमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भई हाल जिससमा रहेका मेखबहादुर गर्बुजाको पनि लगानी छ ।

स्थानीय तमबहादुर चोचाङ्गी, जितेन्द्र चोचाङ्गी, भिमबहादुर शेरपुञ्जा लगाएतको लगानी छ । स्थानीयस्तरमा क्रसर सञ्चालक अगाडि स्थानीयले विरोध गर्न नसकेपनि सार्वजनिक सुनुवाई लगाएतका कार्यक्रमहरुमा गुनासो गर्ने गरेका छन् । क्रसर सञ्चालकले राष्ट्रिय निकुञ्ज बिभाग, एक्यापबाट समेत अनुमति लिएर सञ्चालन गरेको भन्दै स्थानीयको विरोधलाई दवाउने गरेका छन् । क्रसरबाट सबस्टेशन, सडक लगाएत ब्यक्तिगत घर बनाउन समेत प्रयोग हुने क्रसरबाट बार्षिक ८० लाखसम्म कमाई हुने अनुमान गरिएको छ ।

लाखौं आम्दानी गर्ने क्रसरले गाउँपालिकालाई कुनै कर भुक्तानी गर्दैन । क्रसरका वारेमा गाउँकार्यपालिकामा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताउनुभयो । जनप्रतिनिधिहरुले क्रसर अवैध भएको बताउनुभएको छ उहाँले भन्नुभयो ।

क्रसरलाई कानुनी दायरामा ल्याउनका लागि छलफल भएको अधिकृत पौडेलले बताउनुभयो । कानुनी दायरामा नआए क्रसर बन्द गराउन सम्बन्धित निकायमा पहल गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । जलविद्युत र एक्यापले अनुमति दिँदैमा क्रसर सञ्चालन गर्न पाइदैन उहाँले भन्नुभयो ।