ताजा समाचार:
Search

पोखरेबगर–चित्रे सडक स्तरउन्नतीको काम तिव्र

विकल्प न्यूज/बेनी
पुस १७ गते । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार हुँदै शिखको चित्रे सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको निर्माण तिव्र पारिएको छ । निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले यतिखेर सडक फराकिलो बनाउने काम गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई म्याग्दीले करिब २८ करोड रुपियाँ लागतमा सडक कालोपत्रे गर्न लागेको हो । योजनाको काम सन्तोषजनक रुपमा अगाडि बढेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । हामी योजना स्थलमै पुगेर कामको प्रगतिका वारेमा अवलोकन ग¥यौं प्रजिअ अधिकारीले भन्नुभयो,“सडक स्तरउन्नतीको कार्य तिव्ररुपमा अगाडि बढेको पाइयो । यहि गतिमा निर्माणको कामले निरन्तरता पाए तोकीएको समयमै योजना सम्पन्न हुनेमा विश्वास लागेको छ ।”

योजनाको प्रजिअ अधिकारी सहित आयोजना प्रमुख शिवराम गेलाल र गाउँपालिका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले संयुक्त रुपमा अनुगमन गर्नुभएको छ । सडक निर्माणका क्रममा आउने समस्याहरुलाई समाधान गर्न गाउँपालिकाले सहजीकरण गर्ने अध्यक्ष पुनले बताउनुभयो । यो आयोजना पालिकाकै गौरबको आयोजना भएकाले समयमै नमुनाका रुपमा सम्पन्न गर्नका लागि पालिकाले सक्दो सहयोग गर्ने उहाँको भनाई थियो ।

सडक कालोपत्रे गर्नका लागि २७ करोड ९१ लख ३५ हजार दुइसय २० रुपियाँमा ठेकेदार कम्पनी मोतिदान जयमाता जेभी सँग १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । योजना सम्पन्न भएपछि पर्यटन,आर्थिक र सामाजिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । सडक कालोपत्रे भएपछि विश्वमै चर्चित पर्यटकीय स्थल घोडेपानी र पुनहिल पुग्नका लागि सहज हुने अपेक्षा व्यक्त गरिएको छ । योजना अन्तरगत १२.५ किलोमिटर सडक कालोपत्रे,दुइकिलोमिटर आरसीसी र ४ किमी स्ट्रोङ सोलिङ गरिने छ । ५.२५ मिटर चौढाई भएको सडकमा ३.७५ मिटर कालोपत्रे गरिने छ । ठाकुरप्रसाद आचार्य