सबै मिलेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरौं

विकल्प न्यूज/बेनी
पुस १६ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबैजना जुट्नुपर्ने बताउनुभएको छ । जनप्रतिनिधि,शिक्षक र अभिभावक मिलेमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि हुने उहाँले बताउनुभयो । सबै जुटेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न समस्या हुँदैन उहाँले भन्नुभयो । हामी सबैको आँखा निजी विद्यालयमा गएकाले सामुदायिक विद्यालयहरुको संकटमा परेको उहाँको भनाई थियो ।  पर्वतको जलजला गाउँपालिका – २ बगरफाँटमा रहेको शिद्धबाबा आधारभूत विद्यालयको शैक्षिक विकासका लागि आयोजना गरिएको महायज्ञको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले शिक्षा सेवा आयोगमा पहिलो भएको शिक्षक विद्यालयमा किन फेल हुन्छ ? उहाँले प्रश्न गदै भन्नुभयो । 

शिक्षकले आफ्नो दायित्व र जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेका कारण सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किएको उहाँको भनाई थियो । सरकारी सेवा सुविधा उपभोग गर्ने आफ्नो दायित्व भुल्ने शिक्षकका कारण सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्किएको उहाँले आरोप लगाउनुभयो ।

सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी भएको बताउँदै सरकारको लगानीलाई खेर जान नदिँन समुदाय जागरुक हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो ।

सरकारी शिक्षामा क्षमतावान शिक्षक छनोट भएर आउँदा पनि नतिजाले अभिभावक र समुदाय निराश भएको जनाउदै विद्यार्थीहरुलाई गुणस्तर शिक्षा उपलब्ध गराउन शिक्षकहरुले क्षमताअनुसार मेहनत र राज्यले दिएको दायित्वलाई पालना गर्नुपर्ने उहाँको भनाई थियो । शिद्धबाबा विद्यालयको उद्देश्यलाई पुरा गर्न आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाउदै भौतिक संरचनामात्र होइन विद्यालयमा विद्यार्थी सख्या बढाउन दिगो रुपमा टिकाउन सबै जिम्मेवार बन्न उहाँले आग्रह गर्नुभयो । बगरफाँटलाई नदी कटानबाट जोगाउन,शिक्षा,खानेपानी र सडक निर्माणका लागि आफूले पहल गर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । बगरफाँट देखि बाँसखर्क सम्म को सडक कालोपत्रेको योजना छिटै सुरु हुने उहाँले बताउनुभयो । आफूले उक्त योजनाका लागि पहल गरेको बताउँदै योजना सम्पन्न भएपछि बाँसखर्कको सुन्तलाको महत्व बढ्ने उहाँले बताउनुभयो । संविधानसभाका पूर्व सांसद नवराज शर्माले विद्यालयलाई नयाँ तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मन्टेश्वरी मोडेलमा सञ्चालन गर्न सकियो भने विद्यालयमा विद्यार्थी टिकाउन सकिने उहाँले सुझाव दिनुभयो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले प्राथमिकता दिएको बताउनुभयो । यसै गरी उद्घाटन कार्यक्रममा जलजला २ का वडा अध्यक्ष गोविन्द खत्री,३ का देविन्द्र भण्डारी(रबी) ले पुन सञ्चालन गरिएको विद्यालयलाई सफल रुपमा सञ्चालनका लागि समुदायको सहयोग हुनुपर्ने बताउनुभयो ।

पुष १६ गते देखि २३ गतेसम्म संचालन हुने महायज्ञमा पण्डित कमलनयन गौतमले कथावाचन गर्नुहुने छ । विद्यालयको भौतिक पूर्वाधार जिर्ण भएपछि ६ वर्ष बन्द भएको विद्यालय एकवर्ष अघि स्थानीयवासीहरुको सक्रियतामा पुन सञ्चालनमा आएको थियो । विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर बरुवालले बताउनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुवालको अध्यक्षता,प्रचारप्रसार संयोजक कृष्ण जिसको सञ्चालन र सचिव मुकुन्द शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । महायज्ञ सुरु हुनुभन्दा अगाडि पर्वत बेनी,म्याग्दीको सदरमुकाम बेनीबाजर र बगरफाँट बाजागाजा,भजनकृतन सहित कलश यात्रा गरिएको थियो । महायज्ञको पहिलो दिन गाउँपालिका अध्यक्ष मल्लले एकलाखरु र बेनीका युवा व्यवसायी तथा समाजसेवी नारायण जिसीले एकलाख एकहजार एकसय एक रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।